Aamsanchar

झापामा समुदायका थप तीन जनामा कोरोना संक्रमण

Author Image
मङ्गलवार, भदौ ९, २०७७

झापा । समुदायका तीनसहित आज झापामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा समुदायका तीन, एक औषधि व्यवसायी, एक प्रहरी र बाँकी तीनजना भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । कमल गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार दिनअघि संक्रमण देखिएको व्यक्तिको सम्पर्कमा रहेका २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएकोमा आज थप २ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमण देखिनेमा कमल ३ की ४१ वर्षीया महिला र वडा नम्बर ६ का ६० वर्षीय पुरुष रहेका छन् । योसँगै कमलमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । यसअघि तीन जना भने निको भएर घर फर्किएका छन् ।कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार संक्रमण पुष्टि भएका दुबै जनालाई शहीद धर्मभक्त माविको आइसोलेसनमा राखिएको छ । त्यस्तै कनकाई नगरपालिकाका एक औषधि व्यवसायीमा कोरोना संक्रमण देखिएको छ ।

कनकाई नगरपालिका वडा नं ७ दुर्गापुरमा फार्मेसी संचालन गर्दै आएका औषधि व्यवसायीमा आज संक्रमण पुष्टि भएको हो । उनको ट्राभल हिस्ट्री नभएको र औषधि किन्न आउनेबाट संक्रमण सरेको हुन सक्ने नगरपालिकाका स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए ।त्यस्तै गौरीगञ्ज गाउँपालिकाका एक ब्यक्तिमा पनि संक्रमण देखिएको छ । वडा नं १ का ५० वर्षिय पुरुष भरतपुर क्यान्सर हस्पिटलबाट फर्केका थिए ।

आफन्तको उपचार गराउन गएका ती ब्यक्तिलाई भरतपुरबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले बताए ।त्यस्तै भद्रपुरमा एक प्रहरीसहित तीनजना संक्रमित भएका छन् । संक्रमित हुनेमा विराटनगरबाट सरुवा भएर भद्रपुरको ५ नं वडा प्रहरी कार्यालय आएका पुरुष प्रहरी रहेका छन् । त्यस्तै भारतबाट फर्केर मेची बहुमुखी होल्डिङ सेन्टरमा बसेका धनुषाका एक पुरुष तथा काठमाडौंका एक महिला र अर्का पुरुषमा संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताएका छन् । यसैबीच दमकका १८१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर जाँचका लागि पठाइएका २०९ मध्ये १८१ जनाको रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

पछिल्लो एक सातायता स्वाब परीक्षण गरिएका उनीहरुको रिपोर्ट मंगलबार आएको र तीमध्ये २८ जनाको रिपोर्ट भने होल्डिङ रहेको बताइको छ । पछिल्ला दिन संक्रमण देखिएका बिद्युत प्राधिकरण,जीवन विकास, टेलिकम , मालपोत कार्यालय र क्वारेन्टाइनमा बस्दै आएकाहरुको नमुना परीक्षण गरिएको थियो ।त्यस्तै कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत २२ संक्रमितको पनि नमुना पठाएकोमा ९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर