Aamsanchar

ठुलो आवाज बनाएर मोटरसाईकल चलाउनेलाई १ देखि १५ हजार जरिवाना लिदै ट्राफिक प्रहरी

Author Image
सोमवार, असोज २६, २०७७

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाइ ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ । चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले आइतबार चर्को आवाज बनाएर मोटरसाइकल चलाउने २० चालकलाई कारबाही गरेको हो ।

महाशाखाले सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने तथा स्वरुप परिवर्तन, लापर्वाही तथा जिकज्याक रुपमा चलाउने कार्य कानुन विपरीत भएकाले त्यसविरुद्ध अभियान थालेको छ । महाशाखाका प्रमुख भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनाका साथै सर्वसाधारणमालाई समेत असर पुग्ने बताउनुभयो । जथाभाबी रुपमा साइलेन्सरलाई परिवर्तन गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई काठमाण्डौ उपत्यकाभित्र सञ्चालनमा कडाइ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ढकालले जानकारी दिनुभयो ।

त्यस्ता मोटरसाइकल निकै तीव्र गतिमा कुदाइने गरेको पाइन्छ । महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार चालु आर्थिक वर्षमा मात्रै यसअघि ३४ मोटरसाइकल चालकलाई कारबाही गरिसकिएको छ । त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिबाना स्वरुप एक हजारदेखि १५ हजार रुपैयाँसम्म जरिबाना गराइएको छ ।

यस्ता किसिमका मोटरसाइकल कतै कुदेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराइदिनसमेत प्रहरीले अनुरोध गरेको छ । महाशाखाले यातायात क्षेत्रको ठगी नियन्त्रणमा समेत विशेष टोली परिचालन गरिएको जनाएको छ । सादा पोसाकमा प्रहरी परिचालन गरी यस्ता गतिविधि नियन्त्रण अभियान सुरु भएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर