Aamsanchar

झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै, ११ वटा बिओपी स्थापना, अरु सातवटा छिट्टै स्थापना गरिने

Author Image
शुक्रवार, असोज ३०, २०७७

झापा– भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट बिओपी स्थापना गरेको छ । मेचीनगर–१५ को ज्यामिरगढीमा ११ औँ बीओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बीओपी स्थापनाको लक्ष्य रहेको बताउनुभयो । उहाँले झापामा अरु सातवटा बीओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागुऔषधको कारोबार, तस्करीलगायत अपराध रोक्न सीमाका बीओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । झापामा १४४ दशमलव २ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र छ । सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बीओपी स्थापना भइरहेका छन् । बीओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन् ।

भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीनवटा बिओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बिओपीको लक्ष्य भएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर