Aamsanchar

रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्वीन कोरोना संक्रमितको उपचारमा प्रभावकारी नदेखिएको डब्लूएचओको दाबी

Author Image
आइतवार, कार्तिक २, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको संक्रमितको उपचारमा रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्वीनसमेत चार औषधि प्रभावकारी नदेखिएको बताएको छ । डब्लूएचओले चार विशेष औषधी कोभिड–१९ को उपचारमा कति प्रभावकारी छ भनेर विस्तृत परीक्षण गरेको थियो । रेम्डेसिभिर पहिलो ओषधी थियो जसलाई कोरोनाभाइरसको उपचारमा सबैभन्दा पहिले प्रयोग गरिएको थियो । यो औषधी हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा पनि प्रयोग भएको थियो ।

रेम्डेसिभिरको निर्माता कम्पनी गिलिएडले भने डब्लूएचओको अध्ययनमा आएको परिणामलाई अस्वीकार गरेको छ । एक वक्तव्य जारी गर्दै गिलिएडले अध्ययनको निष्कर्ष अन्य अध्ययनसँग मेल नखाएको र यस परिणामको समीक्षा गर्न बाँकी रहेको बताएको छ ।

के भन्छ डब्लूएचओको अध्ययन ?

डब्लूएचओले सोलिडारिटी ट्रायलका दौरन कुल चार औषधीको परीक्षण गरेको थियो । जसमा रेम्डेसिभिर, हाइड्रोक्सीक्लोरोक्वीन, अटो इम्यून ड्रग इन्टरफेरान र एचआईभीको औषधीको संयोजन लोपिनावीर र रिटोनावीर थिए । बेलायतमा कोभिड–१९ का गम्भीर बिरामीको उपचारमा प्रयोग भइरहेको सस्तो स्टेरोइड डेक्सामेथासोनलाई यस अध्ययनमा सामेल गरिएको थिएन ।

३० अलग–अलग राष्ट्रका ५ सय अस्पतालमा ११ हजार २६६ वयस्क बिरामीलमाथि यी चार औषधीको परीक्षण गरिएको थियो । डब्लूएचओको अध्ययनमा यी औषधीहरु बिरामीको ज्यान बचाउन र संक्रमणको दिन कम गर्नमा प्रभावकारी नदेखिएको हो । तर, यस नतिजाको समीक्षा गर्न भने बाँकी रहेको छ । डब्लूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले बुधबार मात्र प्रभावकारी साबित नभएपछि हाइड्रोक्सीक्लोरोक्वीन र लोपिनावीर र रिटोनावीर औषधीको परीक्षण जुनमा नै रोकिएको बताउँदै अन्य औषधीमाथि परीक्षण जारी राखिएको जानकारी दिएकी थिइन् ।

गत महिला गिलिएडले गरेको अध्ययनमा डब्लूएचओको परीक्षणभन्दा फरक नतिजा आएको थियो । गिलिएडले रेम्डेसिभिर औषधी दिँदा संक्रमित ५ दिन अगावै निको हुने दाबी गरेको थियो । गिलिएडले १ हजार बिरामीमा यसको परीक्षण गरेको थियो ।                                                                                                                                                                                                                                                                  बीबीसी हिन्दी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर