Aamsanchar

नवरात्रको नवौं दिन “सिद्धिदात्री”को महत्त्व

Author Image
आइतवार, कार्तिक ९, २०७७

नवरात्रको नवौं दिन सिद्धिदात्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो नवौं स्वरूपमा सिद्धिदात्रीको नामले प्रसिद्ध हुनुहुन्छ । नाम अनुसार देवी यस विग्रहमा आफ्नो साधकलाई सबै प्रकारको सिद्धि प्रदान गर्नुहुन्छ । देवीको सम्पूर्ण अङ्गहरू दिव्य कान्तियुक्त, सुन्दर तथा मनोहर छ, नाना प्रकारको रत्न जडित अमूल्य आभूषण धारण गर्नुभएको, कमल तथा सिंहको आसनमा विराजमान देवी चार भुजाहरूले युक्त हुनुहुन्छ ।

दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी सिद्धिदात्री मार्कण्डेय पुराणको अनुसार अष्ट सिद्धिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व समस्त सिद्धिहरू यिनै भगवतीको कृपा द्वारा पाईने छ । ब्रह्माण्डको सृष्टिमा यस्तो कुनै पनि चिज जो देवी सिद्धिदात्रीको लागि अगम्य तथा असम्भव छैन ।

देवी भागवत अनुसार भगवान् शिवजीले पनि वहाँकै कृपा द्वारा सम्पूर्ण सिद्धिहरू प्राप्त गर्नुभएको थियो, वहाँबाट युक्त भएर अर्धनारीश्वर रूपमा शिवजी प्रसिद्ध हुनुभयो । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैलाई सिद्धि प्राप्त गर्न सक्नेछन् । नवरत्रको नवौंदिन अर्थात् नवमी तिथि यिनै सिद्धिदात्रीलाई समर्पित छ, देवी दुर्गाको सिद्धिदात्री रूपको साधना एवं पूजा गर्ने गरिन्छ । देवी सिद्धिदात्री नव दुर्गाको श्रेणीहरूमा अन्तिम स्थानमा आसीन हुनुहुन्छ । देवीको साधनाले सम्पूर्ण ब्रह्माण्डमा विजय प्राप्त गर्न सकिन्छ, लौकिक तथा पारलौकिक सबै प्रकारको मनोकामना पूर्ण हुनसक्छ ।

देवीको उपासना साधकको लागि पूर्ण रूपले कल्याणकारी रहेको छ, सिद्धिदात्रीलाई आफ्नो श्रद्धा र भक्तिले गरेको पूजा अर्चनाको प्रभावले पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,अविवाहिताहरूको विवाह हुने, दीन दुःखीको कष्ट निवृत्त हुने, साधक अक्षय पुण्यको अधिकारी बन्ने र असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति महागौरीमा रहेको छ भने देवीको कृपाले अलौकिक सिद्धिहरू प्राप्त हुने शास्त्रोक्त वचन रहेको छ । सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)