Aamsanchar

कोरोना संक्रमणका कारण झापाका एकै घरका दाजुभाइको मृत्यु

Author Image
शुक्रवार, कार्तिक १४, २०७७

झापा ।   कोरोना संक्रमणका कारण झापाका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–२ का चूडामणि भट्टराईका दुई छोराको मृत्यु भएको हो ।

स्वर्गीय भट्टराई जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ३० वर्षीय योगेश्वरको चार महिनाको अन्तरमा मृत्यु भएको हो । भाइ रविन भट्टराईका अनुसार दयारामको शुक्रबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई १२ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

दीर्घरोगको समस्या नभएका ३८ वर्षीय भट्टराईमा निमोनियाको समस्या देखिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

दयाराम कान्छा भाइ योगेश्वरको वैदेशिक रोजगारीका क्रममा कोरोना संक्रमणका कारण कतारमा मृत्यु भएको थियो । दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका योगश्वरको १५ असारमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्युपछि उनको कतारमै अन्त्यष्टि भएको थियो । आफन्तले अन्तिम अवस्थामा शव हेर्नसमेत पाएनन् ।

झापाको दमकमा व्यवसाय गर्दै आएका दयारामको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । अवस्था जटिल भएपछि १२ कात्तिकमा उनलाई नोबेलमा भर्ना गरिएको थियो । सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शुक्रबार साँझ झापाको कनकाइ नदीमा अन्त्यष्टि गरिएको आफन्तले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर