काठमाडौँ — काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष वैशाख ११ गते भियतनामका लागि उड्दा उनीहरू भर्खर १८ वर्षमा टेकेका थिए । एक स्थानीय एजेन्टले उनीहरू दुवैलाई १८ वर्ष नकट्दै अमेरिका छिराइदिने र नाबालक भएकैले मुद्दा मामिला नगरी सजिलै उतै बस्न सकिने सपना देखाएको थियो ।
त्यही सपनाको पासोमा परेर बुबाविहीन दुवैका आमा उनीहरूका लागि ऋणधन गरेर पैसा जुटाउन कस्सिएका थिए । काठमाडौं छाडेको १९ महिनापछि कोरोना कहर छिचोल्दै उनीहरू रित्तो हात काठमाडौं ओर्लिएका छन् । यी १९ महिनाको उनीहरूको भोगाइले संगठित मानव तस्करका एजेन्टहरूको टार्गेटमा कसरी किशोरावस्था पार नगरिसकेकाहरू परिरहेका छन् र उनीहरू कुन हदसम्मको दुःख झेल्दै छन् भन्ने बुझाउँछ ।
प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले औपचारिक अनुसन्धान सुरु नगरिसकेको यो घटनाका पीडित दुई किशोर मोहन र हरि ९नाम परिवर्तन० शनिबार राति विमानस्थल ओर्लिंदा उनीहरूसँग केही थान पुराना कपडाले भरिएको झोला मात्रै थियो । उनीहरूले सुनाए, ‘गेस्ट खोज्न आएका होटलका एक कर्मचारीले हाम्रो हालत देखेर पछि पैसा तिर्ने सर्तमा आफ्नो होटलमा ल्याए ।’ मलावीस्थित एक कल्याणकारी संस्थाले टिकट जोहो गरिदिएपछि नेपाल फर्किन पाएका उनीहरूले पछिल्ला दुई दिनदेखि सुत्न पनि नपाएको सुनाए । मोहनले भने, ‘११ महिनापछि मासु–भात खान पाएर मज्जाले निदाउन सक्यौं ।’
गत वर्ष दक्षिण–पूर्वी अफ्रिकी देश मलावीको राजधानी लिलङग्वेबाट तीन सय किलोमिटर दूरीमा रहेको सानो सहर ब्लान्टायरमा ६ नेपालीलाई बन्धक बनाइएको थियो । एक भारतीय एजेन्टले अमेरिका छिराइदिने भन्दै काठमाडौंबाट नयाँदिल्ली हुँदै भियतनाम, दुबई, इथियोपिया, अजरबैजान हुँदै मलावी पुर्याइएका ४ जनासहित ६ नेपालीलाई मलावी प्रहरीले एक घरबाट उद्धार गरेको थियो । मलावी प्रहरीले त्यतिबेला घरधनी नाजिर अहमदलाई पक्राउ गरेको थियो भने उद्धार गरिएकालाई एक कल्याणकारी संस्थाले नेपाल फिर्ता नहुन्जेल राखिदिएको थियो ।
परिवारले फिर्ती टिकटको प्रबन्ध गरेपछि पर्वतका चार नेपाली गत वर्ष कात्तिक अन्तिम साता घर फर्किएका थिए । उनीहरूले जनही १५ लाखभन्दा धेरै रकम फसाएका थिए । बाँकी दुईलाई भने भारतीय एजेन्टले केही दिनपछि नेपाल फर्काइदिने जिम्मा लिएको थियो । तर उसले उनीहरूलाई ब्लान्टायरबाट राजधानी लिलङग्वे पुर्याएपछि नेपाल नपठाई ब्लान्टायर नै फर्कार्एर एक होटलमा राख्यो । मलावीमा कोरोना संक्रमण तीव्र भएपछि र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएपछि ब्राजिल छिराइदिने बताएको एजेन्टले उनीहरूलाई होटलमै छाडेर सम्पर्कविहीन भयो ।
कोरोना संक्रमण तीव्र हुनुअघिका करिब तीन महिना होटलमा बसेको पैसा नतिरी भारतीय एजेन्ट भागेपछि होल लिस लज एन्ड रेस्टुरेन्टले बन्धक बनाएका तिनै मोहन र हरि थिए । मोहनका अनुसार होटल खर्च भन्दै नेपालस्थित एजेन्टलाई उनकी आमाले तीन लाख रुपैयाँ दिएकी थिइन् । उनले भने, ‘एजेन्टले हामीबाट पैसा लिएर पनि होटललाई तिरिदिएन । त्यहीबेला लकडाउन सुरु भयो । अनि होटलले पासपोर्ट खोसेर हामीलाई बन्धक बनायो ।’
सुरुका केही महिना दिनमा दुई छाक खान दिएको होटलले एजेन्ट फरार भएपछि उनीहरूलाई मानसिक र शारीरिक यातना दिँदै आएको थियो । त्यहाँ बस्दा भोगेको दुःख सम्झँदै हरिले भने, ‘बिहान दुईवटा पाउरोटी दिन्थ्यो । राति एकैचोटि १० बजेतिर थोरै ढिँडो पाइन्थ्यो । ट्वाइलेटको पानी खाई भोकले मरिन्छ कि भनेर अनिँदै सुत्थ्यौं ।’ मोहनले थपे, ‘भोकले यस्तरी पेट बटार्थ्यो कि कति बेला खान देलान् भन्नेबाहेकको कुनै कल्पना नै दिमागमा आउँदैनथ्यो ।’ बेलाबेला होटलका कर्मचारी आउने र मिर्गौला निकालेर बेचिदिने भन्दै धम्काउने गरेको पनि उनीहरूले सुनाए ।
कोरोना कहरका बीचमा ११ महिना लामो कष्टप्रद समय गुजारेर नेपाल फर्किए पनि उनीहरूलाई चैन छैन । ‘यो यात्रामा फसेको जनही ३५ लाखभन्दा धेरै रकम एजेन्टबाट कसरी उठाउने होला भन्ने सम्झेर निद हराम हुन्छ,’ हरिले भने ।
११ कक्षा पास गरेका मोहनले स्कुलमा आफूभन्दा एक कक्षामाथि पढ्ने एक जना साथी कसरी अमेरिका छिरे भन्ने सुनेका थिए । एक दिन अमेरिका पुगेका तिनै साथीले आफ्नो बुबाले अमेरिका पठाउने काम गरेको सुनाउँदै आउन मन भए बुबासँग भेट्न भने । त्यसको केही दिनपछि नै उनले साथीका बुबालाई भेटे । उनले मोहनकी आमासँग अमेरिका छिराउन ३० लाख लाग्ने र १८ वर्ष पार नगर्दै छिरे मुद्दा नलडी ग्रिनकार्ड पाइने आश्वासन दिए । गाउँलेसमेत रहेका र आफ्नो छोरालाई समेत अमेरिका छिराइसकेकाले आमाले सजिलै उनको कुरा पत्याइन् र केही दिनमा खोजेर चार लाख जुगाड गरेर नगदै थमाइन् ।
काठमाडौं आएर पासपोर्ट बनाएको केही महिनापछि एजेन्टले बोलाएर उनी काठमाडौं आए । दुबईको भिसा निकालेर उडाउँछु भनेको एजेन्टले केही साता काठमाडौंमा राखेर उनलाई भियतनाम उडायो । अर्को देश उड्न पाइने आसमा मोहन चार महिना भियतनामको होची मिन्ह र हनोई सहरमा बसे । एजेन्टले अगाडि उडाउन नसकेपछि उनलाई भारत फर्कायो । दिल्लीमा २ महिना बस्दा पनि केही काम नबनेपछि मोहन एजेन्टकै सल्लाहमा नेपाल फर्के । केही सातापछि २०७६ वैशाखमा उनी काठमाडौंबाट दोस्रोपटक भियतनामका लागि उडे । दोस्रो उडानमा अर्को एजेन्टको आश्वासनमा परी अमेरिका छिर्ने भन्दै हिँडेका हरि भेटिए ।
यी दुवैका फरक–फरक स्थानीय एजेन्ट अवैध बाटोबाट अमेरिका छिराउन कहलिएका भारतीय एजेन्टकै सहयोगी थिए । एजेन्टले उनीहरूलाई तीन महिना भियतनामबाट सिंगापुर पुर्यायो । सिंगापुरबाट इथियोपिया उडाउने प्रयास असफल भएपछि केही दिन त्यहीं राखेर श्रीलंका पुर्यायो । मोहनले भने, ‘सुरुमा इथियोपियाबाट ब्राजिल उडाउँछु भन्थ्यो । तर के मिलेन र कता–कता डुलाइराख्यो ।’ उनीहरू २२ दिन श्रीलंकाको राजधानी कोलम्बोनजिकै बसे । त्यहाँबाट उनीहरूलाई एजेन्टले मलावीको ब्लान्टायर सहरको छेउमा रहेको नाजिर अहमदको घरमा पुर्याएको थियो । नाजिरकै घरमा उनीहरूले पर्वतका चार जनालाई पनि भेटेका थिए ।
मोहनको भन्दा फरक कथा छैन हरिको पनि । एसईई सकेर बस्नेबित्तिकै स्थानीय एजेन्टको भरमा परेर उनले अमेरिका छिर्ने सपना बुनेका थिए । कान्तिपुरसँगको कुराकानीमा बारम्बार भक्कानिएका उनले भने, ‘अब के गर्ने हो रु कति पैसा खर्च भइसक्यो १’
एक वर्षअघि मलावीबाट उद्धार भएका चार जनालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलबाट सोझै कार्यालयमा ल्याएर घटनाको विस्तृत विवरण बुझेको थियो । तर त्यही घटनामा जोडिएका दुई किशोर भने काठमाडौं आएको २४ घण्टा बितिसक्दा पनि ब्युरोले आफैं सम्पर्क राख्ने र घटनाबारे विस्तृतमा बुझ्ने प्रयत्न गरेको छैन । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले मलावीबाट ११ महिनाको बन्धकपछि नेपाल फर्केकाबारे आफूहरूलाई केही थाहा नभएको बताए । उनले भने, ‘जाहेरी आएपछि हामी अनुसन्धान गर्छौं । अहिले यसबारे केही थाहा भएन ।’
मोहनकी आमाले भने छोरालाई अमेरिका पठाउने आश्वासनमा पारेर एजेन्टले आफूहरूको बिल्लीबाठ बनाएको बताइन् । उनले कान्तिपुरसित भनिन्, ‘दूधे बालक छँदै उसका बुबा बिते । आमाको दुःख देख्न नसकेर विदेश गाथ्यो, आफैं झन् धेरै दुःखमा जाकियो ।’ -कान्तीपुर दैनिकबाट