Aamsanchar

गोरखा भूकम्पको इपिसेन्टर तोडमोड गर्न लागिएको भन्दै बारपाकका स्थानीयद्वारा धार्चे प्रवेश गर्ने मुख्य नाकामा अवरोध

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

गोरखा — गोरखा भूकम्पको इपिसेन्टर तोडमोड गर्न लागिएको भन्दै बारपाकका स्थानीयले धार्चे प्रवेश गर्ने मुख्य नाकामा अवरोध गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दुलाई लिएर गोरखाका दुई पालिकाबीच विवाद चुलिएको छ ।धार्चे प्रवेश गर्ने मुख्य सडकमा बारपाकवासीले राखेको सूचनामा इपिसेन्टरसँगै थप दुई विषयमा समन्वय नगरेसम्म नाका अनिश्चितकालका लागि बन्द गरिएको उल्लेख गरेका छन् । इपिसेन्टरसँगै पर्यटन पदमार्ग निर्माण तथा सामुदायिक वन क्षेत्रभित्र ढुंगामुढा उत्खनन गरेका विषयमा पनि छलफल चाल्नुपर्ने सूचनामा भनिएको छ ।

गत शनिबार धार्चे गाउँपालिकाको चुङकङमा ‘इपिसेन्टर’ लेखिएको बोर्ड राखेसँगै विवादको सुरुवात भएको हो । ‘धार्चे गाउँपालिकाले गल्ती गरेको छ, भूकम्पको ५ वर्षपछि इपिसेन्टरका विषयमा तोडमोड गर्ने काम भयो,’ बारपाक सुलिकोट गाउँपालिका–२ का अध्यक्ष लालबहादुर गुरुङले भने, ‘यो सच्याउन र फिर्ता गर्न प्रतिकारस्वरूप बाटो बन्द गरेका हौं ।’ स्थानीयको सल्लाहमै धार्चे प्रवेश गर्ने नाका बन्दको निर्णय भएको उनको भनाइ छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको इपिसेन्टरको विषयलाई ५ वर्षपछि तोडमोड गर्न खोजिएको बारपाकवासीको भनाइ छ ।

चुङकङमा ‘इपिसेन्टर’ बोर्ड राखेपछि कात्तिक १६ मा बारपाक सुलिकोट गाउँपालिकाले विज्ञप्ति निकालेर इपिसेन्टर तोडमोड नगर्न भनेको छ । ‘२०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाक रहेको राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा स्थापित सत्यलाई कसैले तोडमोड गरेर हुने कुरा छैन,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । बारपाक नै इपिसेन्टर स्थापित भइसकेकाले अहिले विवाद हुनु आवश्यक नभएको उनको भनाइ छ । ‘धार्चेमा इपिसेन्टर लेखिएको बोर्ड नै खारेज गर्नुपर्छ । अन्य विषयमा छलफलबाट सहजीकरण गर्छौं,’ उनले भने ।

इपिसेन्टर लेखिएको धार्चेको चुङकङ (भीरकोट) २०७२ को भूकम्पले ८० मिटर टाढा धसिएको स्थानीयको दाबी छ । धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले छलफलबाट विवाद समाधानको प्रयास भइरहेको बताए । ‘इपिसेन्टर भ्यु प्वाइन्ट’ वा इपिसेन्टर पार्कका रूपमा चुङकङलाई चिनाउन लागिएको गाउँपालिकाले प्रस्ट्याएको छ । ‘इपिसेन्टर धार्चे भनेका होइनौं, चुङकङको इपिसेन्टर लेखिएको बोर्डमा भ्यु प्वाइन्ट लेख्छौं,’ उनले भने, ‘भूकम्पसँग जोडेर पर्यटक ल्याउन एउटा गहनाका रूपमा परिचित बनाउन खोजिएको मात्र हो ।’ धार्चे छिर्ने नाकामा अवरोधको जानकारी आएलगत्तै खुलाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । ‘जनप्रतिनिधिसँग पनि छलफल भइरहेको छ । कानुनतस् बाटो बन्द गर्न मिल्दैन,’ उनले भनिन्, ‘प्रहरीलाई बाटो खुलाउने प्रयासका लागि निर्देशन दिइसकेका छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर