Aamsanchar

बैतडीमा भएको बस दुर्घटनामा मृत्यु हुने ९ जनाकै सनाखत

Author Image
शुक्रवार, कार्तिक २८, २०७७

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २र२ जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए । बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका-४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ का जगन्नाथ ओझाको सो दुर्घटनामा मृत्यु भएको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका-१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडानम्बर १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । साहुसमेत रहेका चालक बैतडीको दोगडाकेदार-७ खोचलेकका वीरेन्द्र कार्की घाइते रहेका छन् । दुर्घटनामा परेको बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर