Aamsanchar

सीमा विवादलगायत नेपालले उठाएका सबै विषयमा कुराकानी गर्न भारत तयार रहेको एक उच्च भारतीय अधिकारीको भनाई

Author Image
बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । आजबाट शुरु हुने विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको एक उच्च भारतीय अधिकारीले बताएका छन् । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव श्रृंगला बिहीबार काठमाडौं आउँदैछन् । ती अधिकारीले सीमाका सम्बन्धमा छलफल गर्न तयार रहेको तर यो विषयमा लामो गृहकार्य गर्नुपर्ने र राजनीतिक तहमा हल गर्नुपर्ने बताए । तर कुनै विषयमा कुरा गर्ने र नगर्ने भन्ने आफूहरुको अडान नरहेको र नेपालले उठाएका सबै विषयमा कुराकानी गर्न भारत तयार रहेको बताए ।

उनले भने, ‘यी विषयमा छलफल गर्दै अगाडि बढ्न सकिन्छ । तर हामीले अहिले मुख्य फोकस गर्नुपर्ने विषय भनेका द्विपक्षीय विकास साझेदारी, कनेक्टिभिटी, व्यापारलगायत हुन् । यी विषयमा ठोस रुपमा अगाडि बढ्न आवश्यक छ ।

उनका अनुसार अहिले रहेका द्विपक्षीय विषयबाहेक विशेषत कोभिड–१९ को नियन्त्रणमा सहकार्य, भ्याक्सिनको विकासलगायतका क्षेत्रमा नेपालसँग भारत सहकार्य गर्न चाहन्छ । उनका अनुसार भ्याक्सिनको क्लिनिकल ट्रायलदेखि अन्य विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन भारतले चाहेको छ । उनी भन्छन्, ‘भारत नेपाललगायत छिमेकी मुलुकहरुलाई भ्याक्सिन खरिद मात्र होइन, अनुदानको रुपमा सहयोग गर्नका लागि समेत तयार छ ।’

नेपालसँग मात्र होइन, बंगलादेश, म्यानमार लगायतका अन्य मुलुकसँग कोभिड–१९ सम्बन्धी अनुसन्धान, तालिम र भ्याक्सिन उत्पादनलगायतका विषयमा भारतले सहकार्य गरिरहेको छ ।

ती भारतीय अधिकारीले पहिलेभन्दा पृथक यस पटक रोकिएका र अलमलमा परेका द्विपक्षीय विषयलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ठोस प्रारुप नै तयार पारिएको बताए । उनका अनुसार विदेश सचिव श्रृंगलाको भ्रमणपछि हुने संयुक्त कमिसनको बैठकमा यी विषयमा विस्तृतमा कुराकानी हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर