Aamsanchar

नेपालमा सुन तस्कर गर्ने नयाँ तरिका फेला, तेलको बोतलमा लेदो बनएर ल्याएको भेटियो

Author Image
मङ्गलवार, पौष १४, २०७७

काठमाडौं । नेपालमा सुन तस्कर गर्ने नयाँ तरिका फेला परेको छ । नेपालमा पहिलोपल्ट ‘आक्वारेजिया’मा घोलिएको सुन तस्करी भएको पाइएको हो । गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटिएको हो । यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलाइएको छ । ती व्यक्तिले ७५० मिलिलिटरका तीनवटा बोतलमा तेलजस्तो देखिने लेदो प्रकारको वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएका थिए ।

विमानस्थलमा सामान जाँच्ने कर्मचारीले तेलजस्तो देखिने वस्तु साविकभन्दा ‘गह्रौँ’ पाएपछि शंका गरेका थिए । सो वस्तुलाई जोख्दा भारी पाइएपछि भन्सार विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षणबाट कूल वजनको ७० प्रतिशत सुन रहेको पत्ता लागेको हो ।

विमानस्थल प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार यसरी आक्वारेजियामा घुलाएर तस्करी गरिएको सुन पहिलोपल्ट पक्रिएको हो । उनले भने, “अहिलेसम्म यस्तो प्रकृतिको सुन तस्करी पाइएको थिएन ।” परीक्षणको क्रममा साढे दुईकिलो सुन पाइएको उनको भनाइ छ ।भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि नसोचेको तरिकाले सुन तस्करी गरेको पाइएको पुष्टि गरे ।

उनले भने, “हाम्रो केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा घोलमा ७० प्रतिशत सुन पाएका छौँ । प्रयोगशालाको नयाँ मेसिनले यसरी मिसाएको देखाएको हो ।” सुन तस्करीमा संलग्न दुवैजनालाई अदालतमा मुद्दा चलाइएको छ ।

विभागको प्रयोगशालामा रहेको मेसिनले हरेक वस्तुमा कुन तत्व (धातु) कति प्रतिशत रहेको पत्ता लगाउने क्षमता राख्दछ । दाहालका अनुसार शंकाका आधारमा घोललाई सोही मेसिनमा राख्दा करिब ७० प्रतिशत सुन रहेको पाइएको हो ।

के हो आक्वारेजिया रु कसरी घुल्छ सुन?

आक्वारेजिया गाढा नाइट्रिक एसिड र हाइड्रोक्लोरिक एसिडको १ः३ अनुपातको मिश्रण हो । आक्वारेजियालाई नेपालीमा अम्लराज भनिन्छ । सुनको महत्व बढी छ किनकि सुन अघुलित तत्व हो । तर, अम्लराजमा सुन घुल्छ । सुनसँगै आक्वारेसजयाले प्लाटिनम पनि घुलाउन सक्छ । आक्वारेजियामा सुन घुल्दा नाइट्रोसिल क्लोराइड (एसिड), पानी र गोल्ड क्लोराइड (नुन) बन्छ । यसरी बनेको पदार्थ हेर्दा तेलजस्तो देखिन्छ । रासायनिक प्रक्रियाको क्रममा सुन र क्लोरिजको रेडिकल बनिरहन्छन् । सुन र आक्वारेजियाको रासायनिक प्रक्रिया सन्तुलन नआउन्जेलसम्म जारी रहन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर