Aamsanchar

आज उधौली पर्व ( यस्तो छ महत्व)

Author Image
बुधवार, पौष १५, २०७७

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उधौली  र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक मन्धुमुमा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।

पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेषभुषा लगाएर आज किराँत दाजुभाई तथा दिदि(बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परीक ‘साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ ।

‘सोई साई ला एएएए ……..’
हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खैरुु भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरु देख्दा जस्तै नाच्न नजान्ने र विरसिलो मान्छे भएपनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य आ उँछ आउँछ । महिलाहरुले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ । त्यसमाथी विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् । यस पर्व एकदिनका लागि तोकिएपनि यसलाई १५ दिनसम्म मनाउने चलन छ । आजको दिन काठमाडौको टुडिखेल, ईलाम, पाँचथर, तेह्रथुम लगायत देशका बिभिन्न किराँतहरुको बाहुल्यता भएको ठाँउमा सार्वजनिक भेला अनि नाँचगान हुनेगर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती सुमदयका साथीहरुले एकअर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भएपनि धेरै जना भेला हुनेगर्दछन् ।

किराँतहरु भूमीका सन्तानहरु हुन्, यस समूदायमा भूमीको विशेष महत्व अनि आमा पृथ्वीको अद्भूत प्रेम पाइन्छ । आजको दिन पवित्र भुमी पूजाका रुपमा पनि लिईन्छ । भुमी अर्थात माटोको श्रद्धाकासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नकालागि भगवानलार्इ धन्यवाद दिंदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् ।

यसैबीच उधौली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिंदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गर्ने चलन छ ।

सम्पूर्ण नेपालीहरुको प्रिय मोबाईल सहयात्री अनि प्रविधीमार्फत नेपालीपनलाई एकसूत्रमा हरपल बाँधि राख्ने मोबाईल एप्लीकेशन ुहाम्रो पात्रोु को तर्फबाट सम्पूर्ण नेपालीहरुलाई उधौंलीको शुभकामना । नेपाली माटो अथवा भनौ भूमी प्रतिको यो निःस्वार्थ श्रद्धा अनि सद्भावलाई संसारले किराँतहरुमार्फत सिक्न सक्नुपर्नेछ । अन्य वर्षहरु झैं यस वर्ष भेला हुने र सामुहिक कार्यक्रमहरु हुन सहज नहोला तर आँउदा वर्षहरुमा हाम्रा चाडवाडहरुको सामुहिक रौनक कायम रहनेछ भन्ने हामीलाई वलियो आशा छ । जतिसुकै विकास अनि प्रविधी भएपनि पृथ्वीको अस्तित्वसंगै हाम्रो अस्तित्व गाँसिएको छ, हाम्रो साझा घर यस पृथ्वीलाई सबैले माया गरौं, सबैमा शुभकामना !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 729

प्रतिक्रिया (०)

सम्बन्धित खबर