Aamsanchar

जागिरमा पुनर्बहाली हुन थाले निर्मला प्रकरणमा कारबाहीमा परेका प्रहरी अधिकृतहरु

Author Image
शुक्रवार, पौष १७, २०७७

काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार र हत्या अपराधको अनुसन्धानलाई लिएर कारबाहीमा परेका प्रहरीहरु जागिरमा पुनर्बहाली हुन थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि अपराधस्थलमा पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद असोज अन्तिम साता नै जागिरमा फर्किइसकेका छन् ।

बर्खास्तीमा परेका अन्य दुई अधिकृतलाई पनि जागिरमा फर्काउने निर्णय सरकारले गरेको छ । तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई पुनर्बहाली गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालय आएपछि विष्ट र भट्ट सेवामा फर्किने केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवर बताउँछन् ।प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले ३० असोजमा गरेको कुराकानीमा निर्मला प्रकरण चाँडै निष्कर्षमा पुर्‍याइने बताएका थिए । उनले सीआईबीको एउटा टोलीलाई अझै कञ्चनपुरमा राखेका छन् । यद्यपि, अनुसन्धानले गति लिन भने सकेको छैन ।

दिलिपसिंहविरुद्ध छैन नयाँ प्रमाण

११ साउन २०७५ मा भएको निर्मला पन्तको बलात्कार र हत्याबारे अनुसन्धानका लागि दर्जनभन्दा बढी टोली फेरिइसकेका छन् । सीआईबीले पनि समय समयमा फरक टोली कञ्चनपुर पठाउने गरेको छ । हाल कञ्चनपुरमा डीएसपी पञ्चकुमार बाँखुसहितको टोली त्यहाँ छ ।

तर, अनुसन्धान ज्यूँका त्यूँ छ । सीआईबीका निर्देशक सहकुलबहादुर थापा अनुसन्धान जारी राखेपनि हालसम्म उपलब्धी हासिल नभएको बताउँछन् । अनुसन्धानका लागि खटिएर फर्किएका अधिकांश अधिकृतहरुको राय एउटै छ । सबैले प्रकरणका अभियुक्त दिलिपसिंह विष्ट नै भएको निष्कर्ष निकालेका छन् । हरेक अनुसन्धान अधिकृतको छानविनको घेरामा विष्ट नै परेका छन् ।

कञ्चनपुरबाट फर्किएका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) का अनुसार यो विषयमा आईजीपी क्षेत्री र गृह मन्त्री रामबहादुर थापादेखि प्रधानमन्त्री केपी ओलीसम्म सहमत छन् । यसअघि सर्वेन्द्र खनालले महानिरीक्षकबाट अवकाश पाउने बेला विष्टलाई पक्राउ गरेर मुद्दा चलाउने कोसिस गरेका थिए । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले पनि विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दिएकी थिइन् । तर, त्यसवेला सरकारी वकिलको कार्यालय, कञ्चनपुरले साथ नदिएको खनाल निकटस्थहरु बताउँछन् ।

जिल्ला अदालत, कञ्चनपुरमा तत्कालीन अनुसन्धान अधिकृतहरुविरुद्ध प्रमाण नष्ट गरेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले विष्टलाई समात्न प्रहरीलाई अफ्ठ्यारो थियो । अदालतले प्रहरी अधिकृतहरुलाई सफाइ दिएपछि विष्टमाथि पुनः अनुसन्धान सुरु भएको थियो ।

एक अधिकृत थप नयाँ प्रमाण नभेटिँदा अनुसन्धान अड्किएको बताउँछन् । उनका अनुसार विष्टविरुद्ध प्रहरीले भेट्टाएका सबै प्रमाण अदालतमा प्रस्तुत भइसकेको छ । ती प्रमाणको आधारमा अदालतले उनलाई छाड्न आदेश दिएकोले पुनः पक्राउ गर्दा नयाँ प्रमाण लिएर जानुपर्ने बाध्यता रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘नयाँ प्रमाण भनेको कपडाको टुक्रा हुनसक्छ कि भन्ने थियो तर, त्यो बाटो पनि बन्द भइसकेको छ’, उनी भन्छन् । यसअघि निर्मला पन्तको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग विष्टको डीएनए मेल खाएको थिएन ।

तर, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख एवं फरेन्सिक विज्ञ डा. जीवन रिजालको नेतृत्वमा डीएनए पुनरावलोकनका लागि गठित समितिले डीएनए परीक्षण विधिमाथि नै प्रश्न उठाउँदै त्यसमा मात्र भर नपर्न भनिसकेको छ ।

तत्कालीन समयमा महिला प्रहरीले निर्मलाको शवमा रहेको कपडा पखाले प्रमाण नष्ट गरेको आरोप लागेको थियो । यो विषय प्रहरीका तत्कालीन एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा पनि उल्लेख गरिएको थियो ।

तर, सर्वेन्द्र खनालले अवकाशमा जाने वेला बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन पनि खारेज गरिदिएका छन् । त्यसपछि अनुसन्धान नयाँ शिराबाट थाल्न बाटो खुलेको थियो ।

डीएनएलाई दोष !

अहिले अनुसन्धान अधिकृतहरु निर्मला हत्या प्रकरण नसुल्झनुमा डीएनए परिक्षण कारण रहेको बताउन थालेका छन् । डीएनए संकलन र परीक्षण प्रक्रिया त्रुटिपूर्ण हुँदा अनुसन्धानले बाटो विराएको उनीहरुको भनाइ छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृत डीएनएको पाटोलाई विज्ञ समितिले पन्छाइदिएपछि अनुसन्धान विष्टमै केन्द्रित बनेको उनको बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर