वीरगञ्ज । ऐतिहासिक गौरव भूमि पर्सागढी संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । वि.सं।.१८७१ मा नेपाल सरकार र भारतका तत्कालीन शासक ब्रिटिस सरकारबीचको युद्धमा नेपाल विजयी भएको स्थल हो पर्सागढी । बारा, मकवानपुर, सिन्धुलीको जस्तै पर्साको नामाकरण पनि पर्सागढीकै नामबाट राखिएको स्थानीयको दावी छ । राज्यको पुनर्संरचनापछि पर्साको एक नगरपालिकाको नाम पर्सागढी नै राखिएको छ । हाल यो विजयभूमि पर्सागढी नगरपालिका–६ बागेश्वरी चैनपुरमा पर्छ ।
वीरगञ्जबाट १८ किलोमिटर उत्तर पश्चिम र वीरगञ्ज–पथलैया सडकखण्डको जीतपुरबाट १५ किलोमिटर दक्षिण पश्चिम गएपछि पर्सागढी पुगिन्छ । पर्सागढीमा सिन्धुली र मकवानपुर गढीमा जस्तो गढी छैन । १८७१ को ऐतिहासिक युद्ध स्थलको पृष्ठभूमिबारे पर्याप्त अध्ययन हुन सकेको छैन । ब्रिटिससँग युद्धको बेला नेपाल तर्फबाट मुख्य भूमिका निवाह गर्ने रञ्जित चौधरीको घर पर्सागढी नै भएको स्थानीय बताउँछन् ।
युद्धको समयमा अंग्रेजले चलाएको तोपका गोलाहरुको अवशेषहरु पनि स्थानीयसँग छ । स्थानीयका अनुसार पर्सागढी–४ छोटैलीमा इमलीको रुखमा गोला लागेर रुखलाई चिरा पारेको थियो । त्यो गोलालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । खेतबारी खन्ने क्रममा पनि कतिपयले पुराना अवशेषहरु फेला पार्ने गरेका थिए ।
यसरी भएको थियो युद्ध
तत्कालीन मुख्तियार भीमसेन थापाले बुटवल र स्युराज तर्फका केही विवादित भूमि आफ्नो नातेदारहरुलाई दिन खोजेका थिए । ती जमिनहरु अवधका नवाबले पाल्पाली राजालाई आय समेत उठाएर खानू भनी दिएका थिए । तर ती भू–भागमा नेपालको स्वामित्वलाई अंग्रेजले स्वीकार गरिरहेको थिएन ।
जसले गर्दा गभर्नर जनरल अफ मोयराले कम्पनी सरकारको तर्फबाट स्थलगत जाँचबुझका लागि मेजर पेरिस ब्राडसालाई खटाएका थिए । विवादित भूभाग कम्पनी सरकारको स्वामित्वमा रहेको प्रतिवेदन ब्राडसाले पेस गरेका थिए । त्यसपछि दुई देशबीच विवाद उत्पन्न भएको थियो ।
नेपाली फौज विवादित भूमिमा पुगी कम्पनी सरकारको विवादित भूमिलाई कब्जा गरेका थिए । त्यसबखत गभर्नर जनरल मोयराले नेपाल सरकार समक्ष कडा विरोध पत्र पठाएका थिए । पत्रलाई गम्भीरताका साथ नलिई नेपाल सरकारले आलटाल गर्न खोज्यो ।
त्यसबाट रुष्ट बनेका गभर्नर जनरल मोयराले नेपालविरुद्ध युद्धको घोषणा गरे । वि.सं. १८७१ पुस १९ गते नेपाल सरकार र भारत उपनिवेश बनाएर शासन गर्दै आएको ब्रिटिस सरकारबीच युद्ध भएको थियो । सतलज, देहरादुन, बुटवल, वीरगञ्ज र मोरङ गरी पाँच ठाउँबाट धावा बोलेको इतिहास भेटिन्छ । पश्चिम क्षेत्रबाट कर्णेल डेभिड अक्टरलोक्स, गढवालतर्फबाट मेजर जनरल जिलेस्पी, गोरखपुरतर्फबाट जनरल सुलेभान उड, मकवानपुर(वीरगञ्ज) तर्फबाट मेजर जनरल बेनट मार्ले र पूर्वतर्फबाट क्याप्टेन ल्याटरले ईष्ट इन्डिया कम्पनी फौजको नेतृत्व गरेका थिए ।
हमलाको क्रममा दुई स्थानमा नेपाली सेना पराजित भएको थियो भने तीन स्थानमा नेपाली सेना विजयी भएको थियो । नेपालले विजय प्राप्त गरेको स्थलमध्ये एक पर्सागढी हो । महेश राज पन्तले लेखेको नेपाल अंग्रेज युद्धको दोस्रो चरण भन्ने पूर्णिमा वर्ष २ अंक २ ९वि।सं। २०२२० पृष्ठ ७१ मा यसबारे उल्लेख गरेका छन् ।
स्थानीयका अनुसार अंग्रेज सेनाले नेपालको पर्सास्थित अलौं बोर्डर कब्जा गरेको थियो । पर्सा गढीमा समेत आक्रमण गरेर पर्सा गाउँ नै खाली गराएका थिए । त्यसपछि उनीहरु पर्सागढीमा क्याम्प खडा गरेर बसेका थिए । जिंगना पचरुखी, चैनपुर बागेश्वरी, हरपुर, बागबाना र विरुवाबकर्नेवाका बासिन्दा र अगुवाहरुलाई ठूलो चिन्ताको विषय बनेको थियो ।
बागवानाका रञ्जित चौधरीको अगुवाइमा पाँचवटै गाउँ भेला भई लडाइँका लागि अन्न संकलन, हातहतियारको तयारीसँगै युद्धको रणनीति बनाएर जिम्मेवारी बाँडफाट गरेका थिए । युद्ध रणनीतिको चाखलाग्दो पक्ष भनेको आधुनिक हातहतियार नभएर बौद्धिक खालको थियो ।
उनीहरुले पर्सागढी नजिकै रहेको तिलावे र सिंग्याही दोभानमा बाँध बाँधेका थिए । साँझको समयमा भैंसी, राँगा र गोरुहरुको सिङ्मा मसाल बालेर छोडिदिएर डरलाग्दो दृश्य सृजना गरेर क्याम्पतिर पठाएका थिए । त्यसपछि स्थानीय बासिन्दाहरु आफूसँग भएको घरेलु हातहतियारसहित गएर अंग्रेजको क्याम्पमा आक्रमण गरेका थिए । ठूलो राँके जुलुस देखेपछि अंग्रेज सेना भाग्न थाले । भगौडाहरु नदीमा हाम फाल्न बाध्य भए । कतिपय अंग्रेज सेना पानीमा डुबेर मरे, बाँकीलाई पूर्व तयारीका साथ बसेका स्थानीय बासिन्दाले अंग्रेज सेनालाई पानीमा डुबाउने र खुकुरी, तरबारले शिर मुण्डन गरिदिएका थिए । यो युद्धकलाबाट स्थानीयले १८७१ पुस १९ गते अंग्रेजी सेनालाई पराजित गरेको बताइन्छ ।
वि।सं। १८७१ साल चैत ८ मा राजा ग्रिवाणयुद्ध विक्रम शाहद्वारा प्राण साह, भिमसेन थापा, उदय गिरी, शमसेर शाह, रणध्वज थापा र दल भञ्जन पाण्डे मार्फत पर्सागढीको लडाइँमा रञ्जित चौधरीले पुर्याएको योगदानको कदर गर्दै लाल मोहर दिइएको तथ्य स्थानीयसँग छ । लालमोहरमा पर्सागढीको लडाइँमा रञ्जित चौधरीले मेहनत गरेको उल्लेख गर्दै बसडिल्वा र लोरिआड गाउँहरुमा वि।सं। १८७२ वैशाखदेखि राजअंकबाहेक जलकर, वनकर आदि विभिन्न दस्तुर उठाई सरकारलाई सुम्पेको उल्लेख छ । चौधरीलाई जग्गा आवाद र गुल्जार गरी त्यसबाट हुने उत्पादन उपभोग गर्ने तथा सन्तान दरसन्तानसम्म वेद वुन्यादको काम गर्न पाउने भनी लालमोहरमा लेखिएको छ ।
‘थारु संस्कृति’ अंक ६ को पृष्ठ ६९ मा रमानन्दप्रसाद सिंहहरुद्वारा र ‘थारु समाजमा प्राप्त ऐतिहासिक दस्तावेजहरुको संग्रह’मा लालमोहर छापिएको छ । नेपाल अंग्रेज युद्धमा रञ्जित चौधरीले मेहनत गरेको भनिए पनि लालमोहरमा कसरी सहयोग गरे भन्ने उल्लेख छैन ।
गढीको वर्तमान अवस्था
पर्सागढीमा पुग्ने जो कोहीले सिन्धुली, मकवानपुर गढीमा जस्तो परिकल्पना गरेका हुन्छन् । तर त्यहाँ न किल्ला छ न कुनै पुरातात्विक अवशेषहरु नै ।
स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ । गढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ । पश्चिमतर्फ माता दुर्गाको जईघर (गर्भ गृह)स्थापना गरी स्थानीय चौधरीहरुले पूजा गर्ने गरेका छन् । बिर्वाका चौधरी परिवारले त्यसमा लगानी गरेका छन् ।
जिंगनाका चौधरी परिवारको संयुक्त लगानीमा पक्की महिषासूर पूजा स्थल, हरपुरका चौधरी परिवारका संयुक्त लगानीमा दादीको मन्दिर बनाइएको छ । प्रत्येक वर्ष दसैंको नवमीदेखि मालपोत र जिल्ला प्रशासन कार्यालयबाट पर्सागढीमा बोकाको बलिदिने परम्परा अझै कायम छ । नवमीका दिन धूमधामका साथ पर्सागढीमा मेला लाग्दै आएको बागेश्वरी तित्रौनाका पूर्वगाविस अध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।
देशकै गौरव गाथा बोकेको ऐतिहासिक स्थलको विकासको लागि केवल चौधरी परिवार मात्र लागिपरेको देखिन्छ । वि।सं। २०७२ सालमा ऐतिहासिक युद्धको २ सय वर्ष पूरा भएको अवसरमा पर्सागढी महोत्सवको आयोजना गरिएको थियो । ब्रिटिस सरकारसँग लडेर विजयी भएका वीर योद्धहरुको वीरगाथालाई इतिहासको पन्नामा सीमित बनाइएकोमा स्थानीय अगुवाहरु चिन्तित छन् । उनीहरु पर्सागढीको महत्वलाई बेवास्ता गरिएको गुनासो गर्छन् ।
पर्सागढी–६ को बागेश्वरी तित्रौनाबाट गढीसम्म जाने बाटो कच्ची छ । खोलामा पुल छैन । पर्साको मात्र नभई नेपालकै ऐतिहासिक धरोहर पर्सागढी राज्यको उपेक्षामा पर्दै आएको पर्सागढी मन्दिर संरक्षण समितिका अध्यक्ष वृजमोहन चौधरी बताउँछन् । ‘विगतमा स्थानीय समुदायबीचको मनमुटावले गर्दा ऐतिहासिक युद्धभूमि ओझेलमा पर्यो,’ उनले भने, ‘अहिले स्थानीय सरकार आएको छ, तर पनि यसको संरक्षण र सम्वद्र्धनका लागि खासै चासो देखाएको छैन ।’
समय समयमा विभिन्न मन्त्री तथा सांसदहरु गढीमा पुगेर ऐतिहासिक र पौराणिक मान्यतालाई चिनाउँदै पर्यापर्यटनसँग जोड्ने प्रतिवद्धता जनाउँदै आएका छन् । तर कसैले प्रतिबद्धता पूरा नगरेको स्थानीय रुष्ट छन् । गढीको नाममा नामाकरण भएको पर्सागढी नगरपालिकाले समेत गढीको संरक्षणको लागि जति गर्नुपर्ने हो त्यति नगरेको गुनासो स्थानीय सोहन चौधरी गर्छन् ।नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरेको भए पनि त्यसको सदुपयोग हुन नसकेको उपप्रमुख अर्चना चौधरीको भनाइ छ । ‘योजना राखिन्छ तर काम गर्ने बेलामा बिर्सिने समस्या छ,’ उनले भनिन् ।
आकर्षक विजय स्तम्भ निर्माण गर्ने, धर्मशाला, शौचालय बनाउने, वृक्षारोपण गर्दै जाने लक्ष्य नगरपालिकाले लिएको छ । गढीको संरक्षणमा नेपाली सेनाले पनि साथ दिँदै छ । वृहत एकीकरण मार्ग कार्यक्रममा नेपाली सेनाले पर्सागढीलाई समेत जोडेको छ ।
राष्ट्र एकीकरणको समयमा प्रयोगमा ल्याइएको बाटो तथा गढीहरुको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत पर्सागढीमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको वीरगञ्जस्थित चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी मदनजंग राणा बताउँछन् ।
‘एकीकरणको समयमा प्रयोगमा ल्याइएको बाटो र गढीहरुको संरक्षण गर्ने कार्य नेपाली सेनाले थालेको छ । पर्सागढीको बारेमा पनि लेखापढीको काम भइसकेको छ,’ उनले भने, ‘सबैभन्दा पहिले त विजय स्थललाई सबैले चिन्न पर्यो । भनेर लागेका छौं । गढीको ऐतिहासिक महत्वको प्रवर्द्धन र प्रचार प्रसार गर्ने लगायतका कार्यमा जुटेका छौं । स्थानीय तहसँग मिलेर संरक्षणको पाटोमा काम गर्न सकिन्छ ।’
पुस १९ गते विजयी भएको दिन विजय उत्सव मनाउने र त्यसपछि गढी संरक्षणका अन्य कार्यहरुलाई कसरी अगाडि बढाउने भनेर कार्ययोजना बनाउने उनी बताउँछन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले पनि ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसारमा चासो दिएको छ । संघका अध्यक्ष हरि पन्त पर्यटकीय स्थलहरुलाई आकर्षक बनाउन आवश्यक देखिएको बताउँछन् ।
‘स्थानीय धार्मिक तथा ऐतिहासिक महत्वका पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्छ । त्यसले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत आकर्षित गर्छ,’ उनी भन्छन्, ‘जो कोहि पर्सागढी पुग्दा नेपाल अंग्रेजबीच भएको ऐतिहासिक युद्ध ताजा हुनुपर्छ । अहिले त्यस्तो अनुभूति भएन, तर सबैले मिलेर बनाउनुपर्छ ।’
संघले पुस ४ गते नै पर्यटन पत्रकार संघ पर्सा, पर्सागढी नगरपालिका र नेपाली सेनासँग मिलेर पर्सागढी प्रवर्द्धन तथा प्रचारका लागि अवलोकन भ्रमण गरिसकेको छ । फूलबारी, मन्दिर क्षेत्र र अन्यत्रको गरी गढीको २४ कठ्ठा जमिन रहेको स्थानीय बताउँछन् । स्थानीय रामचन्द्र प्रसाद यादव र विन्देश्वर यादवले गढीको जग्गा व्यक्तिगत भोगचलन गरेका छन् । नगरपालिकाले जग्गा प्राप्तिको लागि पहल थालेको छ । उनीहरुले त्यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । उपप्रमुख चौधरी पर्सागढीको जग्गा चारैतिरबाट अतिक्रमण भएको बताउँछिन् ।
विजय स्तम्भको नक्सा समेत तयार भइसकेको छ । पर्सागढी परिसरमा भएका भवन तथा जग्गाहरुको संरक्षण गर्ने, पोष्टर, फ्लेक्स, फोटोहरु तयार गरी जिल्लाका विद्यालय, प्रशासन, अन्य निकायका व्यक्तिहरु समावेश गरी जानकारीमूलक कार्यक्रम सन्चालन गर्ने योजना छ । पर्सागढीको लडाइँमा नेपाली फौजको नेतृत्व गर्ने रञ्जित चौधरीको सालिक निर्माण गर्ने, सम्बन्धित सरोकारवाला स्थानीय सरकार पुरातत्व विभागबाट आवश्यक समन्वय र पहल गरी माष्टर प्लान तयार गरी आवश्यक कार्यान्वयन गर्ने, एतिहासिक महत्व झल्कने पुस्तिका निर्माण गर्ने तयारी भइरहेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ इतिहासको संरक्षण हुन नसके मेटिएर जानसक्ने बताउँछन् । ‘पर्सागढी ऐतिहासिक महत्व झल्काउने स्थान हो, पुरातत्व विभागमा सूचीकृत गरेर संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘थारु सँस्कृति र चुरेको नजिकै भएकाले पर्सागढी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ । पर्यटकलाई आकर्षित गर्ने थप कुराहरु पैदा गरौं ।’
सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
स्थानीय वास्तु सिल्पले पर्सागढीको संरक्षण गर्नुपर्छ: चन्द्रकिशोर
राष्ट्रियताको लागि अन्तर्राष्ट्रिय युद्धको विजय अभियानमा सफल योगदान दिने योद्धाहरुको विरगाथालाई इतिहासको पान्नामा सीमित राखिएको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थललाई बेवास्ता गरिएको छ ।
बरिष्ठ पत्रकार चन्द्रकिशोर नेपालमा अंग्रेजसँग खास समुदाय लडेको र सहयोग गरेको इतिहासमा देखिएको भए पनि राज्यले जति अध्ययन अनुसन्धान गर्नुपर्ने हो त्यति नगरेको बताउँछन् । उनी पर्सागढीमा मौलिक साँस्कृतिक महत्व झल्काउने गरि संरक्षण गर्नुपर्नेमा जोड दिन्छन् ।
‘सिन्धुलीगढी र मकवानपुरगढीमा जुन किसिमको पुरातात्विक अवशेष छ, पर्सागढीमा छैन, त्यस किसिमको भावना पैदा गर्ने काम हुन पनि सकेको छैन । स्थानीय र प्रदेश सरकारले वेवास्ता गरेको छ,’ उनले भने, ‘कंक्रिटको पर्खाल, मन्दिर वा धर्मशाला बनाइदिने काम हुन्छ । त्यसरी पुरातात्विक र ऐतिहासिक स्थलको संरक्षण हुँदैन । स्थानीय वास्तु सिल्पको आधारमा मौलिक साँस्कृतिक झझल्को दिने हिसाबले संरक्षण र निर्माण हुनुपर्छ । त्यसले नै पर्यटकलाई आकर्षित गर्छ ।’ पर्सागढी तराईका स्थानीय बासिन्दाले नेपाली पक्षलाई युद्धमा सहयोग गरेको ऐतिहासिक र राष्ट्रिय एकताको प्रतीक भूमि भएको उनको भनाइ छ ।
ईंटा ओछ्याएर सडक बनाउने प्रकृति र वातवरणमैत्री संरचना बनाएर अन्य ठाउँभन्दा फरक देखाउन सके मात्रै पर्यटक आउने उनी बताउँछन् । ‘हिमाल, पहाड, निकुञ्ज वा ताल मात्रै हैन, साँस्कृतिक ऐतिहासिक सम्पदासमेत पर्यटकीय स्थल हुन् । संघीय नेपालमा पृथक ढंगले पर्यटकीय संभावना खोजिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय एकता, राष्ट्रियता र राष्ट्रप्रतिको भावना प्रतिविम्बित गर्ने हिसाबले संरक्षणको काम गरिनुपर्छ ।’
बारामा बारागढी, रौतहटको समनपुरलाई समेत जोडेर पर्सागढीको विकास गरिनुपर्ने उनको धारणा छ । संघ र प्रदेश सरकारले खासै वास्ता नगरे पनि स्थानीय तवरबाट इतिहासको कदर र सम्झना स्वरुप गढीलाई संरक्षण गर्दै आएको दावी नगर प्रमुख लोकनारायण यादवको छ ।