Aamsanchar

गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको पद यात्रा शुरू

Author Image
मङ्गलवार, पौष २१, २०७७

काठमाडौं – नेपाली सेनाको टोलीले नेपाल एकीकरण पदयात्रा शुरू गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा पद यात्रा शुरू गरेको ४० जना नेपाली सेनाको टोलीलाई गोरखा दरबारबाट बिदाइ गरिएको हो। नेपाल एकीकरण शुरूवातको थलो गोरखा दरबारबाट हिँडेको सेनाको टोली पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार आइ पुग्नेछ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई एकीकरण पदमार्ग भनिन्छ। सेनाले केही वर्षदेखि पृथ्वी जयन्तीका अवसरमा एकीकरण पदयात्रा गर्दै आइरहेको छ। गोरखा दरबार परिसरको हनुमान चौतारोमा एक कार्यक्रम गरी सेनाको टोलीलाई टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरू (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डा सहित बिदाइ गरिएको हो। पदयात्रामा निस्केका गोरखा दरबारका गुरूजी पल्टनका सेनाहरूले परम्परागत पोशाक लगाएका छन्।

पञ्चेबाजा र नेपाली सेनाको ब्यान्ड बाजा बजाउँदै हनुमान चौताराबाट निस्केको टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले, अश्राङ, बोर्लाङ, धादिङ र नुवाकोट हुँदै काठमाडौं आइपुग्नेछ। सेनाको उक्त टोली गोरखाको बोर्लाङघाट पुगेपछि गोरखा दरबारबाट ल्याएको झण्डा, टर्च धादिङको देवी दत्त गणलाई हस्तान्तरण गर्नेछ।

धादिङले नुवाकोट र नुवाकोटले काठमाडौंको टोलीलाई ती सामग्री हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ। पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार क्रममा धादिङ, नुवाकोट हुँदै काठमाडौंंमा हमला गरेको इतिहास छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर