Aamsanchar

तथ्य प्रमाण विहीन बुद्धशान्ति ठुटेवर मेला

Author Image
आइतवार, कार्तिक २५, २०८१

बिर्तामोड । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ६ शान्तिनगर ठुटेवर मेला सुरु भएको छ ।
ऐतिहासिक मेलाको रुपमा परिचित मेलाको हिजो एक औपचारिक कार्यक्रमका बिच उद्‌घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले मेलाको उद्‌घाटन गरेका हुन । सोही अवसरमा निर्माण व्यवसायी शेरबहादुर थापाले सौजन्यमा बनाई दिएको मञ्चको पनि मन्त्रीले उद्‌घाटन गरे । निर्माण व्यवसायी थापाले १ लाख २५ हजार लागतमा मञ्च निर्माण गराएका हुन ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राईले शान्तिनगर साँच्चै नै शान्त, बहुजातीय, भौगोलिक विविधता रहेको ठाउँ र यस क्षेत्र कृषि तथा प्राकृतिक पर्यटनको सम्भावना बोकेको ठाउँ भएकाले यस ठाउँमा भौतिक पूर्वाधार विकास तथा निर्माण गरेर पर्यटन र कृषि उपजको बजारीकरण गर्न आवश्यक रहेको र यस ठाउँ बुद्धशान्ति को मेरुदण्ड रहेको हुँदा पूर्वाधारको योजना सहित मन्त्रालयमा आउन स्थानीय सरोकार पक्षलाई आग्रह गरेका छन् ।

ठुटेवरमा मेला कहिले देखि लाग्न सुरु भयो भन्ने यकिन जानकारी स्थानीय कसैलाई छैन । नजिकै रहेको शिवालय मन्दिर करिव ४ सय वर्ष पुरानो भन्ने भनाई छ । हालको स्थानमा पहिले पुरानो विशाल बरको वृक्ष सयौँ वर्षको रहेको र सोही आधारमा यो मेला पनि मन्दिर स्थापनाकाल तिरबाटै सुरु भएको हुन सक्ने अनुमान गरिएकोले यस मेलालाई ऐतिहासिक मेला भनिएको हो, तिथिमिति तथ्य प्रमाण विहीन कै अवस्थामा रहेको कार्यक्रम संयोजक तथा ठुटेवर संरक्षण तथा विकास समितिका सदस्य सोमनाथ पौडेलले जानकारी दिए ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँ, उपाध्यक्ष भवानीप्रसाद खतिवडा, पत्रकार चन्द्र भण्डारी, मञ्च दाता झापाली विल्र्डसका सञ्चालक शेरबहादुर थापालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव कृष्ण आचार्यले गरेका थिए ।

२०७२ साल देखि औपचारिक रुपमा आयोजना हुँदै आएको मेलामा यस वर्ष १ सय भन्दा धेरै स्टलहरू रहेको छ । सात दिन सम्म सञ्चालन हुने मेलामा हरेक दिन राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिने बताइएको छ ।

पूर्वी नेपालको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको एक महत्वपूर्ण मेला हो ठुटेवर मेला । यो मेला विशेष गरी स्थानीय समुदायको धार्मिक आस्था, परम्परा र सांस्कृतिक पहिचानलाई समेटेर मनाइन्छ । यो क्षेत्रमा विभिन्न जातजातिका मानिसहरू बसोबास गर्छन्, जसले गर्दा मेलामा विभिन्न सांस्कृतिक विविधता झल्किन्छ ।

शान्तिनगर ठुटेवर मेला परम्परागत रूपमा धार्मिक सांस्कृतिक आस्थासँग सम्बन्धित छ । मेलामा मुख्य रूपमा बर वृक्षको पूजा, जातजातिका नृत्य, खानपान र मनोरञ्जनमा साधान राखिएको छ । मेलाको अर्को मुख्य आकर्षण स्थानीय तथा सांस्कृतिक प्रदर्शनीहरू, खेलकुद, संगीत र नृत्य कार्यक्रमहरू हुन हो, जसले स्थानीय समुदायलाई मनोरञ्जन मात्र होइन, सांस्कृतिक आदान–प्रदानको अवसर पनि दिन्छ ।

समयसँगै यस मेलाले आधुनिक रूप लिँदै गएको छ, र यसमा स्थानीय कृषि उपजहरू, र अन्य व्यापारिक सामग्रीहरूको प्रदर्शनी र बिक्री पनि गरिन्छ । यसले मेलालाई आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण बनाएको छ ।

शान्तिनगरको ठुटेवर क्षेत्र बाट केही किलो मिटर दुरीमा रहेको चिया बगान, खेतबारी र सुपारी बगैंचाहरूले यस क्षेत्रलाई मनोरम प्राकृतिक सौन्दर्य प्रदान गर्छन्। यो भूभाग हराभरा, उर्वर र प्राकृतिक स्रोतहरूको धनी मानिन्छ, जसले यहाँको जनजीवनलाई समृद्ध बनाएको छ र ठुटेवर मेला पर्यटकीय दृष्टिकोणले पनि आकर्षक मान्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
मङ्गलवार, मंसिर २५, २०८१
सुनको मूल्य
सोमवार, मंसिर २४, २०८१
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २३, २०८१