Aamsanchar

शान्ति मिसनमा सेनामाथि कुटपिट: सूचना चुहाउने बर्खास्तीमा, संलग्न तीनलाई एक वर्ष बढुवा रोक्का

Author Image
सोमवार, पौष २७, २०७७

काठमाडौं । शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कुटपिट प्रकरणको सूचना चुहाउने अधिकारी बर्खास्तीमा परेका छन् । नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो ।

उनलाई भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्दै ६ महिनाका लागि कैद सजाय पनि तोकिएको सैनिक स्रोतले  बतायो । सैनिक आचारसंहितामा अनुसार ती जवानले सामाजिक सञ्जालमा तस्वीर हाल्नुको साटो गणपति वा सैनिक मुख्यालय वा शान्ति सेना निर्देशनालयमा उजुरी गर्नुपर्थ्यो । सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था पनि छ ।

हरेक सैनिक युनिटमा सिकायत उजुरी पेटिका पनि राखिएको छ, जसमा हरेक सैनिकले कार्यालयभित्र भएका गलत गतिविधिबारे लेखेर राख्न मिल्ने व्यवस्था छ । तालाबन्दी गरिएको सिकायत पेटिका खोल्ने अधिकार जंगीअड्डामा रहेको सिकाय जाँचबुझ निर्देशनालयका अधिकारी समक्ष मात्र हुन्छ ।

यसअघि ८ असोजमा कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटपछिको माझीको शरीरमा निलडाम भएको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डाले ज्येष्ठ मेजर (सेनानी) को नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ बनाएका थिए ।

त्यसले दिएको प्रतिवेदन अनुसार सैनिक अदालतले कुटपिटमा संलग्न तीन अधिकृतलाई एक वर्ष बढुवा रोक्का हुने फैसला सुनाएको छ । अदालतले अन्य जवानले पनि मादक पदार्थ सेवन गरी माथिल्लो अधिकृतको आदेश अवज्ञा गरेको निष्कर्ष निकाल्दै प्रकरणमा संलग्न ९ जनामध्ये केहीलाई नसियत पनि दिएको छ ।

अदालतले सामाजिक सञ्जालमा आएको विवरण शेयर गर्ने कंगोका केही जवानलाई पनि नसियत दिएको स्रोतको भनाइ छ । अदालतको आदेशलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै सदर गरेका छन् । सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदलत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ । सैनिक आचारसंहिताले संगठनलाई आक्षेप लाग्ने विषयमा लाइक, कमेन्ट गर्न पनि निषेध गरेको छ ।

कंगोको घटना सार्वजनिक भएलगत्तै सैनिक सूचना तथा जनसम्पर्क निर्देशक सहायक रथी सन्तोष बल्लभ पौडेलले प्रेस विज्ञप्ति जारी गरेर प्रकरणमा संलग्न सबैलाई कसूर अनुसारको कारबाही हुने बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर