विराटनगर – विराटनगर भन्सार कार्यालयनजिक भारतीय नम्बर प्लेटको मालबहाक ट्रकभित्र मृत्यु भएको अवस्थामा बुधबार चालकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित खोक्सामा राखिएको पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्र मंगलबारराति सुतेका चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मद भोलिपल्ट मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाकाअनुसार चालक नुर र पञ्जाव नै घर भएका सह–चालक २५ वर्षीय अब्दुल लतिक खाना खाएर मंगलबारराति ट्रकभित्र सुतेको खुलेको छ ।
बुधबार बिहान उठेर हेर्दा चालकलाई मृत्यु भएको अवस्थामा देखेकोभन्दै सह–चालकले ९ बजेतिर प्रहरीलाई खवर गरेको थापाको भनाइ छ । उनकाअनुसार विराटनगर भन्सार कार्यालयनजिक रहेको घटनास्थलमा पुगेको प्रहरीले ट्रकभित्र ओढ्ने आढेर सुतिरहेको अवस्थामा चालकलाई मृत फेला पारेको हो ।
प्रनि थापाले मृत्युको कारण थाहा नभएको र शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको जानकारी दिए । उनकाअनुसार उक्त ट्रक चार दिनअघि सामान लिएर नेपाल प्रवेश गरेको पाइएको छ । नेपालतर्फ सामान ‘अनलोड’ गरेर पुनः सामान लिन भारततर्फ जाने तयारीमा ट्रकका चालक र सह–चालक तीन दिनदेखि भन्सारमा पालो पर्खिएर बसेको खुलेको उनको भनाइ छ ।
पालो पर्खने क्रममा तीन दिनदेखि उनीहरु खाना खाएर ट्रकमै सुत्ने र बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण यकिन भइनसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुने थापाको भनाइ छ । नेपाल प्रहरीले भारत पञ्जावमा रहेका मृतक चालकका परिवारका सदस्यलाई घटनाका बारेमा जानकारी दिइसकिएको जनाएको छ ।