काठमाडौँ — महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन् । बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए ।
त्यसपछि इजलासले महान्यायाधीवक्तालाई राजपत्र छ कि छैन भनेर प्रश्न गरेको थियो ।महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए । उनले भने, हिजो मैले राजपत्रका कुरा उठेपछि मागेको थिए । मेरो पीएलाई पनि खोज्न लगाए अनलाइनमा तर भेटिएन ।
सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो । महान्यायाधिवक्ताले शुक्रबार इजलासलाई राजपत्र दिँदै आफू कामविशेषले हिजो अफिस फर्केको बताए । सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको हो ।