Aamsanchar

सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिए

Author Image
आइतवार, माघ १८, २०७७

सिरहा – सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन्। सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता अद्यावधि गर्ने क्रममा सो मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिइन्‌।

​गत २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार १०१ पुरुष, एक लाख ६० हजार २६७ महिला र दुई जना तेस्रो लिङ्गी गरी तीन लाख ४४ हजार ३७० मतदाता थिए।अघिल्लो निर्वाचनमा रहेका २२१ मतदान स्थललाई कायम राख्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको बैठकले गत २०७४ को निर्वाचनका बेलाका मतदान स्थललाई नै कायम राख्ने निर्णय गरेको कार्यालय प्रमुख यादवले जानकारी दिइन्‌।

उनका अनुसार निर्वाचन कार्यालयले घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगको तालिकाअनुसार जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य अगाडि बढाएको छ। यही माघ १५ गते प्रत्येक स्थानीय तहमा मतदाता नामावली प्रकाशन गरी माघ १६ र १७ गते त्रुटि सच्याउन निवेदन दिने, झुठा विवरणविरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउन निवेदन दिने, मृत्यु वा नागरिकता परित्याग गरेको मतदाताको स्थानीय पञ्जिकारबाट नामावली सङ्कलन गरिने कार्य सकिएको छ।

आएका उजुरीहरूमाथि माघ १८ र १९ गते सफाइको मौका दिइने र माघ १८ देखि २० गतेभित्र निवेदनको आधारमा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउने, स्थानीय पञ्जिकारबाट प्राप्त मृतक मतदाताको नामावली निर्वाचन आयोगमा पठाउने, माघ २० गते दाबी विरोध उजुरी उपर कारवाही गरिने र माघ २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ। यसका साथै सिरहाको १७ वटै स्थानीय तहमा एकरएक सहायक निर्वाचन अधिकृत छनोट गरी खटाइने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर