Aamsanchar

इलाममा विभिन्न कार्यक्रम गरी फाल्गुनन्दको १४० औँ जन्म जयन्ती मनाइयो

Author Image
आइतवार, कार्तिक २५, २०८१

इलामको सन्दकपुर गाउँपालिकास्थित माबुमा निर्माण गरिएको माङहिम

इलाम- राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औँ जन्म जयन्ती इलाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ । महागुरु फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ । फाल्गुनन्दले विसं १९८८ साल वैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपाल अन्तर्गत १० लिम्बुवान १७ थुमका अग्रजहरूलाई भेला पारेर ‘सत्यधर्म मुचुल्का’ घोषणा गर्दै समाज सुधारको अभियान थाल्नु भएको इतिहास छ । सत्यधर्म मुचुल्कामा छोरी छोरीलाई समान शिक्षा र अंशबन्डा दिने लिने हक कायम गर्ने गराउनु पर्ने उल्लेख छ । सुनौली रुपौली र दाइजो प्रथा अन्त्य गर्नुपर्छ । छोरीहरू देवीमाता हुन उनीहरूको बिहे गर्दा कुटुम्बबाट रीत लिनु पनि पाप हो । उनीहरूलाई दिइने दाइजोको सट्टा शिक्षा दीक्षा राम्ररी दिएर स्वावलम्बी बनाइदिनु उत्तम जस्ता महत्त्वपूर्ण बुँदा सत्यधर्ममा उल्लेख छन् ।

फाल्गुनन्दले २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएर १३ वर्ष नोकरी गरेको इतिहास छ । नोकरीबाट फर्केपछि उहाँले पाँचथर, इलाम, पाँचथर, ताप्लेजुङ, भुटान र तेह्रथुमका विभिन्न स्थानमा माङहिम (मन्दिर) निर्माण गर्दै सांस्कृतिक अभियान थालेको पाइन्छ । उहाँले किराँत धर्म हाङ साम्योको थालनी गर्नुभएको इतिहास छ ।

समाज सुधारक, प्रकृतिप्रेमी किरात समुदायलाई विकासको मूलधारमा ल्याउन र सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउँदै शिक्षाको प्रादुर्भाव गर्न महागुरु फाल्गुनन्दको विशेष भूमिका रहेको पाइन्छ । बाबु जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूका साहिँला छोराको रूपमा वि.सं. १९४२ साल कात्तिक २५ गते इलामको इभाङस्थित चुक्ची नाम्वामा जन्मिएका फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको २००५ चैत २२ गते निधन भएको थियो ।

फाल्गुनन्दको जयन्तीका अवसरमा आज इलामको माबुमा करिब एक करोड लागतमा सम्पन्न माङहिम (मन्दिर) उद्घाटन गरिएको छ । सोही स्थानमा यहाँ नवनिर्मित फाल्गुनन्दको पूर्णकदको सालिकसमेत अनावरण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर