Aamsanchar

आज विश्व सिमसार दिवस

Author Image
मङ्गलवार, माघ २०, २०७७

आउनुहोस्, आज केही पर्यावरणीय, अनि भौगोलिक विषय बहस गरौं । आज ‘विश्व–सिमसार दिवस’ हो । विश्वको पर्यायवरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ ।

Wetlands and water, अर्थात् ‘सिमसार र पानी’ भन्ने नाराका साथ सन् २०२१ को ‘विश्व सिमसार दिवस’ मनाँइदैछ । अघिल्लो वर्ष ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ यो दिवस मनाइएको थियो । हुन पनि नेपाल ‘जैविक विविधता’मा धनी छ । तर प्रयोगका सन्दर्भमा हामी निकै पछि छौ । अनि दुरुपयोग गर्न चाहिँ अलि अग्रसर नै ।

समुन्द्रले नछोएको भूपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा सम्पन्न मानिन्छ । हामीसँग नदीनाला, तालतलैया अनि कुवा, पोखरीसहित पानीको मात्रा धेरै छ ।
सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको भू–भाग हो । जुन थलो ओसिलो र धापिलो हुन्छ । अर्थात् बाह्रैयाम पानी नसुक्ने भूमि हुन् । जसमा सामान्यतया दलदल या हिलो सँधै कायम रहन्छ ।

खासगरी सीमसार वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रयय थलो मानिन्छ भने पानीको आधारदेखि जलाधारका स्रोत पनि । यस्ता सिमसार क्षेत्रहरुमा दुर्लभ चरा–चुँरुङ्गीहरुको पनि वासस्थान मानिन्छ । राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुलर्भ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।

हाम्रै वरपर अनि परिवेशभित्र रहेका कति सिमसार क्षेत्रहरुमा घर या कारखाना खोलिए होलान् ? प्लटिङ गरेर जग्गा तयार गरिँदै होलान् या अन्य प्रयोजनमा अतिक्रमण भए होलान् ? वास्तवमा भन्ने हो भने मानीवय विकास क्रम अनि पूर्वाधारहरुको अविवेकी विकासक्रमले नेपालमा सिमसारक्षेत्र नासिने दुश्चक्रमा परेका छन् ।

यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्तिकै मनमोहक र सुलभ नदेखिन सक्छन् । यस्तै सिमसार क्षेत्रहरुका जीवहरु, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भनिन्छ ।

मृगौलाकै राम्रो संरक्षण गर्न नसकेमा पृथ्वी अनि यसमा बस्ने हाम्रो अस्तित्व कत्तिको सहज हुन्छ । विचार गरौं । सिमसार क्षेत्र पर्यावरण, औषधि र कुन्दमूलमा उपयोगी मानिन्छन् । अझ सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साइबेरियादेखि चराहरु आइपुग्छन् भन्ने अध्ययनहरुले देखाएको छ ।

यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । करिब ३ अरब संसारका जनसंख्याहरुले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरुले उत्पादन गर्छन् । सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै भयावह छ ।

विश्व सारसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माइपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्त हुन् । हाम्रै पुराना अध्ययनहरुले नेपालमा ठूला–साना गरी ४ हजार नजिक सिमासार क्षेत्र छन् ।

यी महत्वपूर्ण सिमसारको विश्वस्तरमै सरक्षण गर्न सन् १९७१ मा जलपन्छीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरु सामेल भएका छन् । नेपाल भने औपचारिक रुपमा सन् १९७१ मा उक्त महासन्धिको सदस्य भएको हो ।

त्यसअतरिक्त सरकारले ‘सीमसार बुद्धिमत्तापूर्ण’ ढंगले प्रयोग गर्ने नीति सार्वजनिक गरिसकेको छ । सरकारी नीतिअनुरुप, मानवजातिको हितका लागि पारिस्थितिक प्रणालीका प्राकृतिक सम्पदाको जगेर्ना गर्न सिमसारको बुद्धिमत्तापूर्ण र दिगो प्रयोग गर्नुपर्दा रामसारमा सूचीकृत वा अन्य सिमसार क्षेत्रहरूको संरक्षण र व्यवस्थापन बुद्धिमत्तापूर्ण प्रयोग गर्नै तौर तरिका लागू हुनेछ । सिमसारमा आश्रित सङ्कटापन्न जीवजन्तु, जलचर, सापेक्षिक जङ्गली जनावर तथा अन्य जल आश्रित आनुवंशिक स्रोतको संरक्षण गरिनेछ ।

पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छ । यस्ता अधिकांश सिमसार क्षेत्रहरु एसियामा पर्छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्व आत्मसात् गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो । नीतिअनुरुप राष्ट्रियस्तरमा समन्वय गर्न सचिवस्तरमै कार्यदल व्यवस्था पनि छ । तथापि सिमसार क्षेत्रहरु जोखिममै छन् ।

पोखराका तालहरुलाई नै उदहारणमा लिउँ, हरेक वर्ष ताल खुम्चिदै अनि वस्ती बढ्दै गइरहेको छ । ताल–किनारमा होटल–घर निर्माणको क्रम बाक्लिदो छ । त्यसरी अन्यत्र पनि भू–अतिक्रमण बढ्दै गइरहेको छ । त्यसकारण सिमसार क्षेत्र जोखिम परेका छन् । सीमसार क्षेत्र वरिपरि पूर्वाधार खडा गर्ने काममा सरकारले कडाई गर्न सकेको पाइँदैन । त्यसअतिरिक्त सिमासार सुकाउने गरी अत्यधिक मात्रामा भूमिगत पानीको दोहोन गर्ने कार्य पनि बढ्दै गएको छ । अतिक्रमणले गर्दा वर्षेनि सिमसार क्षेत्र घट्दै गएका छन् ।

आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तब्य हैन र ? कानुनको दायरा फराकिलो पार्दै यस्ता दोहन कार्यमा संलग्नहरुलाई कानुनी सजायँको दायरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ, नत्र मानव समुदायको अस्तित्व संकटमा छ । तपाई–हामी आफै सिमसार क्षेत्रको सरंक्षण गर्न अघि बढ्न जरुरी छ ।

फेवु्रअरी–२ को ‘सिमसार दिवस’को अवसरमा सबैमा बहुमूल्य प्राकृतिक स्रोत संरक्षणमा हामी सबैमा चेतना आओस् । शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 428

प्रतिक्रिया (०)

सम्बन्धित खबर