Aamsanchar

पूर्वराजा ज्ञानेन्द्रसहित डेढ दर्जन पूर्वमन्त्रीले लिएको सुरक्षा सुविधा कटौती

Author Image
बुधवार, फागुन ५, २०७७

प्रतिकात्मक तस्वीर

कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थ्रेट भएको नेता हुँ, ममाथि यसअघि पटक–पटक आक्रमण भएका छन् तर एकाएक सरकारले नै सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरेछ, यसले त झनै थ्रेट महसुस गरें ।’

ती सुरक्षा अधिकारीले ‘कार्यविधिअनुसार गर्नू भन्ने सरकारको आदेश हो’ भनेपछि महतले भनेका थिए, ‘गृह सचिव, गृहमन्त्री र आवश्यक परे प्रधानमन्त्रीसँगै कुरा गर्छु ।’

महतको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका २ जना अंगरक्षक फागुन १ बाट फिर्ता भए । पूर्वगृहमन्त्री गोविन्दराज जोशी र पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले पनि सुरक्षामा खटिएका प्रहरी फिर्ता गरिएपछि असन्तुष्टि जनाएका थिए । अंगरक्षक फिर्ता गर्न पुगेका सुरक्षा अधिकृतसँग जोशीले भनेका थिए, ‘म थ्रेट नै नभएको नेता त होइन तर सरकारले निर्णय गरेछ ।’ पूर्वअर्थ राज्यमन्त्री ल्हारक्याल लामाले अंगरक्षक फिर्ता नगर्न निकै दबाब दिएका थिए तर प्रहरीले अंगरक्षक फिर्ता लियो । केही साताअघि मात्रै मन्त्रिपरिषद्बाट पारित विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा नपरेकाहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी धमाधम फिर्ता गरिँदै छ ।

केही पूर्वपदाधिकारीले सुरक्षाकर्मी फिर्ताप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार डेढ दर्जन पूर्वमन्त्री तथा राजनीतिकर्मीले सुरक्षाकर्मी फिर्ता भएपछि आफूहरूलाई असुरक्षा रहेको कारण देखाउँदै अंगरक्षकको व्यवस्था गरिदिन गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

राप्रपा अध्यक्ष एवं पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वगृह राज्यमन्त्रीद्वय कँडेल र रिजवान अन्सारी, पूर्वअर्थ राज्यमन्त्री लामालगायत नेताले अंगरक्षकको व्यवस्था गरिदिन गृहमा निवेदन दिएका हुन् ।

कांग्रेस नुवाकोटका नेता रमेश महतका अनुसार अंगरक्षक फिर्तापछि पूर्वअर्थमन्त्री महतले गृह मन्त्रालयका अधिकारीलाई फोन गरेर असन्तुष्टि जनाएका थिए । उनले फोनबाटै ‘मलाई सुरक्षा थ्रेट छ कि छैन भनेर तपाईंहरूलाई थाहा छँदै छ, मैले के भनिरहुँ’ भनेका थिए । यसअघि महतमाथि लक्ष्य गरेर २०७४ को संसदीय निर्वाचनताका ककनीको काउलेथानमा बम विस्फोट गरिएको थियो । २०७२ साउनमा नुवाकोटकै खरानीटार र २०७४ चैतमा दुप्चेश्वरमा आक्रमण प्रयास भएको थियो । त्यसपछि महतले सशस्त्रबाट अंगरक्षक लिएका थिए । सुरक्षा निकायको उपल्लो तहबाट अवकाश पाएका अधिकारीहरूले पनि अंगरक्षक फिर्ताप्रति असन्तुष्टि जनाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वपदाधिकारीको सुरक्षामा खटिएका करिब डेढ सय प्रहरी फिर्ता भइसकेका छन् । अंगरक्षकका रूपमा प्रहरीबाट देशभर १ सय ७० जना हाराहारी खटिएका थिए । सशस्त्र प्रहरीले मंगलबार साँझसम्म पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, अन्य पूर्वपदाधिकारी लगायतको सुरक्षामा कार्यविधिभन्दा बढी खटिएका करिब २ सय ७६ जनालाई फिर्ता गरेको छ । अझै करिब १ सय जना जति सशस्त्र प्रहरी फिर्ता हुन बाँकी छ । नेपालन्युजबाट साभार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर