Aamsanchar

मोरङको एक विवाह घरमा आक्रमण हुँदा बेहुलीका बुवा सहित ४ जना घाईते, लुटेराहरुले सुन चाँदीका गहनाहरु पनि लगे

Author Image
शनिवार, फागुन १५, २०७७

मोरङ । मोरङको केराबारी स्थित एउटा विवाह  घरमा लुटपाट र आक्रमण भएको छ । शनिबार बिहान भएको घटनामा बेहुलीका बुवासहित चार जना घाइते भएका छन् ।

केराबारी गाउँपालिका–७ नर्कटे स्थित स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण गर्दै १०/१५ जनाको समूहले विवाह घरबाट पैसा र सुनचाँदीका गरगहना लुटेर फरार भएको मोरङ प्ररहीले जनाएको छ ।
भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीच बिहेको कार्यक्रम समापन भइसकेर सबै जना सुतिसकेपछि आएको समूहले एक्कासि आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र विवाहमा बेहुलातर्फबाट जन्ती आएका भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन् ।

सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
खुकरी प्रहार गरिएका भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ । दायाँतर्फको करङबाट भालाले रोपिएका भगतको फोक्सोमा पनि चोट लागेको उपचारमा संलग्नले चिकित्सकले बताएको प्रहरीको भनाइ छ । बेहुली, बेहुला लगायत बिहे घरमा रहेका अरु भने भागेर आक्रमणबाट बचेका छन् ।

घटनाका बारेमा थाहा पाएर प्रहरी टोली आएको सुनेपछि आक्रमणकारी बिहे घरबाट फरार बनेका कारण पनि थप क्षति हुन नपाएको बताइको छ । बिहेमा बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका सुनचाँदीका गरगहना लुटपाट गरेर त्यो समूह भागेको प्रहरीले जनाएको छ । बिहे सकिएपछि बेहुलीले राखेको ठाउँबाट पाँच तोलाजति सुन र चाँदीका विभिन्न गहना तथा नगद लुटेर आक्रमणकारी फरार बनेको एसपी खड्काले बताए । उनका अनुसार छ लाखभन्दा बढीको लुटपाट भएको छ ।

आक्रमणमा केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता रहेको जानकारी प्रहरीले दिएको छ । मुस्कान र निशान एउटै परिवारका दाजु–भाइ हुन् । उक्त समूहले लागुऔषध पनि सेवन गरेको हुनसक्ने प्रहरीको आशंका छ । आक्रमणकारी गाउँघरमा दादागिरी र गुण्डागर्दीमार्फत सर्वसाधारणमा आतंक खडा गर्ने समूह रहेको पाइएको एसपी खड्काले बताए । घटनापछि आक्रमणमा संलग्न फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी उनले दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर