Aamsanchar

३६ वर्षअघि चोरिएको लक्ष्मी-नारायणको मूर्ति अमेरिकाद्धारा नेपाललाई हस्तान्तरण

Author Image
शनिवार, फागुन २२, २०७७

काठमाण्डौ-ललितपुरको पाटनबाट हराएको वासुदेव-कमलाजा (लक्ष्मी-नारायण)को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३६ वर्षअघि चोरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हाम अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव-कमलाजाको मूर्ति हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिङ्गाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव-कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

अमेरिकाको टेक्सास राज्य डल्लास म्युजियम अफ आर्टमा गएको वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट हराएको थियो । मूर्तिबारे सूचना दिने न्यूयोर्कमा रहेको जोन-जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनकाअनुसार डल्लास सङ्ग्रहालयले वासुदेव-कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो ।

त्यसका लागि सङ्ग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन माग गरेका थिए । नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर मूर्ति नेपाल पठाइने जानकारी दिएको छ । रकम अभावका कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव-कमलाजाको मूर्तिलाई लागेजति खर्च ब्यहोरेर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर