Aamsanchar

झापामा मेनपावर शाखा कार्यालयहरुको अनुगमन,लायन इन्टरनेशनल र मेमोसा ओभरसिज सिल

Author Image
बुधवार, फागुन २६, २०७७

झापा : वैदेशिक रोजगार विभागले झापामा दुई वटा मेनपावर कम्पनीको शाखा कार्यालय सिल गरेको छ। विभागले वैदेशिक रोजगारीमा हुने गरेको विकृतिसँगै बढ्दो ठगीलाई मध्यनजर गरी झापामा मेनपावर शाखा कार्यालयहरुको अनुगमन सुरु गरेको छ। अवैधानिक रुपमा दमकमा सञ्चालित लायन इन्टरनेशनल मेनपावर र बिर्तामोडमा सञ्चालित मेमोसा ओभरसिजलाई सिल गरेको टोलीका शाखा अधिकृत मातृका सापकोटाले जानकारी दिए। 

उनका अनुसार ३४० दर्ता नम्बर रहेको लायन मेनपावरको शाखा सञ्चालन गर्ने अनुमति नभएका कारण बन्द गराएको बताए। त्यस्तै बिर्तामोडको मेमोसाले विभागबाट पूर्व स्वीकृतिबिनै अन्तर्वार्ता लिइरहेको अनुगमन क्रममा भेटिएपछि बन्द गराएको हो। विभागका अनुसार झापामा १३ वटा मेनपावरका शाखा कार्यालय वैधानिक छन्।

विभागको टोलीले जिल्लाका मेनवापरहरुको अनुगमन गर्न थालेपछि अवैध रुपमा सञ्चालित मेनपावरका सञ्चालकहरू बोर्ड लुकाएर कार्यालय बन्द गरी भागाभाग भएका छन्। विभागका शाखा अधिकृत सापकोटाको नेतृत्वमा चार सदस्य अनुगमन टोली झापा आएको हो।

शाखा अधिकृत सापकोटाले भने, “वैदेशिक रोजगारीका नाम युवायुवती ठगी रहेको उजुरीसँगै गुनासो आएकाले अनुगमनलाई तीव्रता दिएको हो, विभागबाट अनुमति लिएका शाखा कार्यालयहरूमा पनि वैधानिकता देखिएन, त्यसलाई सुधार्न भनी सकेका छौँ।’ अवैध रुपमा सञ्चालित मेनपावरका सञ्चालकहरूले बोर्ड लुकाएर कार्यालय बन्द गरी भागेको अनुगमनमा भेटिएका पनि उनले बताए।

जिल्लामा मेनपावर शाखा कार्यालयहरू आधिकारिक हो वा होइन, नियमअनुसार सञ्चालन छ वा छैन त्यस विषयमा पनि अनुगमन गरिरहेको विभाग निर्देशक तथा सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए। देशभर ८५४ वटा मेनपावर दर्ता छ। २०७३/०७४ मा २६ वटाले मात्र शाखा कार्यालय खोल्ने वैधानिकता पाएका उनले बताए। नयाँ शाखाका लागि कानुन बनेपछि मात्र खोल्न अनुमति दिने उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर