सन् १९६२ को आजकै दिन, अर्थात् मार्च १५ तारिखमा तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कंग्रेसमा एउटा विशेष सन्देश पठाएका थिए । उक्त सन्देशमा ‘उपभोक्ता अधिकार संरक्षण’का पैरवीका विषय थिए । त्यसै दिनको सम्झनामा हरेक वर्ष मार्च १५ तारिखमा उपभोक्ता अधिकार दिवस मनाइने गरिन्छ ।
हरेक मान्छे उपभोक्ता हो । क्रय अनि बिक्रय मानव सभ्यताका अपरिहार्य कारोवार हुन् । परापूर्वकालदेखि नै हामीले क्रय–बिक्रय अर्थात् खरिद र बिक्री अनि वस्तु तथा सामानहरूको उपभोग गर्दै आएका छौं । त्यसो त, प्रकृति हाम्रो सबैभन्दा ठूलो उपभोग श्रोत हो । श्वास फेर्ने हावा, पिउने पानी, आकाश, न्यानो घाम, चिसो बतास, मौसमको माधुर्यता आदि सबैभन्दा ठूलो उपभोगका विषय हुन् । जुन विना हाम्रो मानव अस्तित्वको अर्थ हुँदैन । यस्ता प्राकृतिक तत्व मानव धेरै हदसम्म स्वतन्त्र र निःशुल्क उपभोक्ता हो । तर बजारमा पाइने विभिन्न वस्तु तथा सेवाहरूको क्रय अनि बिक्रयसँगै उपभोक्ता अधिकारका मुद्दा अनि तथ्यहरू आउँछन् ।
शुरुवातकालमा हाट–बजारको प्रचलन थियो । मानिसहरू त्यही हाट–बजारमा सामान अनि सेवा साटासाट गर्दथे । जतिखेर पैसाको प्रचलन थिएन, मानिसहरू एक–अर्काबीच सामान साटासाटबाटै उपभोग गर्थे । धानसँग आलु साट्थे । मकै र कोदो साटासाट हुन्थ्यो । यसरी वस्तु तथा सेवाको विनिमय गरिन्थ्यो । भनाईको तात्पर्य जहाँ आफूसँग भएका सामानको साटो अन्य आफूसँग नभएका सामान विनिमय गरिन्थ्यो । बिस्तारै पैसा अर्थात् मुद्राको चलन आयो । पछिल्ला कालखण्ड त संसार हाम्रो सामु छर्लङ्गै छ ।
अब त सामान किन्न बजार पनि नगइकन घरबाटै इन्टरनेटबाट हेरेकै भरमा सजिलै मगाउन सकिन्छ । यस्ता युगान्तकारी उपभोग शैलीका परिवर्तनसँगै अवसर र चुनौती दुवै हाम्रा सामु छन् । स्मरणरहोस्, संसारका ४० प्रतिशत बासिन्दाहरू अनलाइन माध्यमहरूमा संलग्न रहेको विश्वब्यापी अध्यनहरूले देखाएको छ । नेपालमा भने अझै पनि भरपर्दो ‘अनलाइन पेमेन्ट गेटवे’हरू सबैसमक्ष परिचित छैनन् । तर बिस्तारै अनलाइन बजार नेपालमा पनि बढ्दो क्रममा छ ।
हामी उपभोग्य वस्तुको गुणस्तरका विषयमा जति संवेदनशील हुनुपर्छ, त्यति गम्भीर छैनौ । उपभोग्य बस्तुबाट मर्कामा परेमा कानूनी उपचार खोज्ने प्रचलन पनि बसेको छैन । उपभोक्ता ठग्नेहरूलाई दण्ड–जरिवाना हुन्छ भन्ने तथ्य समाजमा स्थापित हुन सकेको छैन । उपभोक्ताको संरक्षणसम्बन्धी मुलुकमा प्रशस्त कानूनहरू पनि छन् ।
अर्कोतर्फ हरेक बिक्रेता क्रेता हो, अनि हरेक क्रेता बिक्रेता हो । हामीहरू कतै आफ्नो समय या सीप बेच्दछौ भने कतै आएको रकमले बस्तु अनि सेवा क्रय गरेर क्रेता बन्न पुग्छौ । यो उपभोक्ताको वृत्त हो । क्रय र बिक्रय दुवैमा पारदर्शिता जरुरी छ ।
किनेको सामानको या सेवाको चित्तपर्दो मूल्य र गुणस्तर नलागे विरोध गर्न नहिच्किचाऔ । कुनै वस्तु एवं सेवा खरिदपछि बिल माग्न नभुलौ । केही समस्या परेमा गुनासाहरू सरकारी संयन्त्र या सम्बन्धित जिल्ला विकास कार्यलय या खाद्य गुणस्तर कार्यलयमा गरौं ।
विहान उठेर दाँत माँझ्ने ब्रस र पेस्टदेखि लगाएका लुगा, चढेका गाडी अनि हाल्ने इन्धनसम्म अधिकांश विदेशी उत्पादन प्रयोग गर्ने नेपाली भूमिमा स्वदेशी उत्पादन अनि ब्यवसाय र उत्पादनमुखी अर्थतन्त्रको वकालत गर्दै दिगो विकासमा टेवा पु¥याउने संयन्त्रको परिकल्पना साकार होस् ।