Aamsanchar

वैवाहिक वर्षगाठमा १५ परिवारको स्वास्थ्य वीमा

Author Image
सोमवार, वैशाख २७, २०७८

मेचीनगर । झापा मेचीनगर—११ धाइजनका व्यवसायी राजन चिमरियाले आफ्नो १८ औँ वैवाहिक वर्षगाँठको अवसरमा मेचीनगरका १५ वटै वडाबाट एक/एक गरी विपन्न आर्थिक अवस्था न्यून भएका तथा आय आम्दानीको स्रोत केही नभएको १५ परिवारको स्वास्थ्य बीमा गरिदिएका छन् ।

सोमबार मेचीनगर नगरपालिका परिसरमा चिमरिया दम्पतिले नगरप्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीलाई (१५ घरपरिवार ) को स्वास्थ्य बीमा वापत लाग्ने रकम ५२ हजार ५ सय रुपैयाँ प्रदान गरेका थिए ।

चिमरियाले यसका बारेमा नगरपालिकाको स्वास्थ्य शाखासँग सम्झौता गरी नगरका १५ वर्ट वडाबाट अति विपन्न र आर्थिक अवस्था कमजोर भएका घर परिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य विमा गरिदिएका हुन् । रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले

स्वास्थ्य बीमा गराउन नसकिरहेका परिवारको पहिचान गर्न प्रत्येक वडामा पुगेर वडाध्यक्षसँगको समन्वयमा छनोट गरिने बताए । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराएकाको उपचार निःशुल्क गरिन्छ । बढीमा पाँच सदस्य परिवारको बीमा गराए वापत एक सदस्य बराबर ३ हजार ५ सय वार्षिक रकम बुझाउनु पर्छ । उक्त रकम बुझाए वापत हरेक सदस्य बिरामी परे एक लाख बराबरको उपचार खर्च सरकारले व्यहोर्छ ।

चिमरियाले स्वास्थ्य जोखिम बढिरहेकाले आफ्नो वैवाहिक वर्षगाँठ दीन दुःखीको स्वास्थ्य सेवामा समर्पित गरेको प्रतिक्रिया दिए । ‘रकम अभावका कारण कैयौँले स्वास्थ्य उपचार पाउन सकेका छैनन्,’ उनले भने–‘स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले अभियान सुरुवात गरे ।’ कात्तिक १६ गते पर्ने आफ्नो जन्मदिनको अवसरमा पनि १५ घरपरिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका छन् ।

चिमिरियाले २०६१ सालमा सुरुंगा निवासी गौरा मैनालीसँग विहे गरेका हुन् । विहे पश्चात हरेक वर्ष बैशाख २७ गते र आफ्नो जन्मदिन कात्तिक १६ गते दीनदुःखीका लागि सहयोग गर्दै आएका छन् । कहिले गरिबको घरमा छाना लगाइदिने त कहिले खाद्य सामग्री घरैमा पुगेर वितरण गर्ने गरेका छन् ।

कोरोनाकालमा गतवर्ष उनले मेचीनगरको क्वारेन्टिनमा बसेका मानिस तथा बिरामीका निम्ति दैनिक निःशुल्क दूध वितरण गरेका थिए । उनले निरन्तर दुई तीन महिनासम्म दूध उपलब्ध गराएर सेवा गरेका थिए ।

चिमरिया दम्पतिको यो उदाहरणिय कामको नगरप्रमुख विमल आचार्यले प्रशंसा गदैं नगरपालिकाकातर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आफ्नो जन्मदिन या वैवाहिक वर्षगाठ विभिन्न रेष्टुरेण्टदेखि सुविधा सम्पन्न होटल र सामूदायिक भवनमा निक्कै तामझामका साथ मनाउने प्रचलन बढ्दै गएकाले यस्तो फजुल खर्च नगरी सामाजिक कार्यमा लगाउन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन मेचीनगर नगर स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले गर्नुभएको थियो । वडानम्बर ४ का वडाध्यक्ष नविन वराल, ११ का वडाध्यक्ष नरेन्द्र धिमाललगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर