Aamsanchar

कोरोना रोकथामकालागि सहकारी संघ झापाले स्वास्थ्य–सामाजिक विकास कोष स्थापना गर्ने

Author Image
शुक्रवार, जेठ ७, २०७८


भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणले समग्र स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै झापा जिल्ला सहकारी संघले स्वास्थ्य तथा सामाजिक विकास कोष स्थापना गर्ने भएको छ ।

स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पालना गर्दै हालै बसेको संघको बैठकले सो निर्णय गरेको हो ।

कोरोनाका कारण उत्पन्न संकटमा सहकारी संस्थाहरुले छुट्टाछुट्टै रुपमा पुर्याएको सहयोग र योगदानले सहकारी अभियानको भूमिकालाई व्यापक र व्यवस्थित बनाउन नसकिरहेको निष्कर्ष निकाल्दै संघले चाँडै स्थापना गरिने कोषमार्फत एकद्वार प्रणालीबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिने सहयोग, कोरोनाका कारण संकटमा परेका सहकारीकर्मी, कोरोना संक्रमण भई अप्ठ्यारोमा परेका सहकारीकर्मी तथा तिनका परिवारलाई पुर्याइने राहत तथा सहयोगका क्रियाकलाप सञ्चालन गरिने निर्णय भएको संघका अध्यक्ष गणेश ढकालले जानकारी दिनु भयो । यो अल्पकालीन क्रियाकलाप हुनेछ भने कोष निर्माणको दीर्घकालीन उद्देश्य पनि रहेको अध्यक्ष ढकालको भनाइ छ ।

सहकारी अभियानले कोरोनाकालमा स्वास्थ्य सचेतना, पिसिआर परीक्षण, आर्थिक सहयोग, सदस्य जागरण तथा सेवालगायतका क्षेत्रमा ठूलो आर्थिक व्ययभार वहन गरिरहेको भन्दै अध्यक्ष ढकालले अव यस्तो व्ययभारलाई एकद्वार प्रणाली अपनाई सबै सहकारी संघ÷संस्था, सञ्चालक, कर्मचारी र नागरिकसमेतको अपनत्वको भावना विकास गर्न कोष स्थापनाको योजना अघि सारिएको बताउनु भयो ।

नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ र स्थानीय सरकारलगायत सरोकारवाला निकायको सहयोग र समन्वयमा कोष खडा गरिने बताइएको छ ।
उक्त कोषबाट हाललाई कोभिड १९ को जोखिम नियन्त्रणका लागि आवश्यक पर्ने सबै क्रियाकलाप सञ्चालन गरिनेछ भने भविष्यमा जिल्ला संघको नेतृत्वमा एक सहकारी समुदायिक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

यसैगरि, सोही कोषमार्फत सहकारी संघ÷संस्थासँग सम्बन्धित सञ्चालक, कर्मचारी र सदस्यलक्षित सामाजिक क्रियाकलाप सञ्चालन गरिने बताउँदै संघका सचिव भवानीप्रसाद दंगालले संघले कोषमा यथासक्य योगदान गर्न जिल्लाका सबै प्रारम्भिक सहकारी संस्था, सञ्चालक, कर्मचारी, सदस्यलगायत, सरोकारवाला सबै निकायसमक्ष आह्वान गरेको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर