Aamsanchar

बङ्गलादेशबाट ३२ हजार ५ सय मेट्रिक टन युरिया नेपाल आइपुग्याे

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाण्डौ – बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा ती परिमाणमा युरिया मल आइपुगेको हो ।

जीटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार पाँच सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेल मार्गबाट वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आउने छ ।

सम्झौताअनुसार अहिलेसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नुपर्नेमा अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाइ भएको प्रबन्धक केसीले बताउनुभयो । उहाँका अनुसार बाँकी रहेका मल छिटै नै उपलब्ध गराउन नेपाल सरकार तथा बङ्गलादेशमा रहेको नेपाली दूतावासले प्रयास गरिरहेको छ ।

नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन लागेको हो । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल दुई हजार सत सय मेट्रिक टन, डीएपी एक हजार चार सय दुई मेट्रिक टन र पोटास एक हजार दुई सय ८० मेट्रिक टन मौज्दात छ ।

मौज्दात रहेको ती परिणामको मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ । पर्सा जिल्लामा रहेको एक सय ३१ थोक बिक्रेतामार्फत ती मल किसानसम्म पुग्ने गरिन्छ । ती कार्यालयले थोक बिक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । बिक्रेताहरूले पालिकाले तोकेको मूल्यमा किसानहरूलाई मल बिक्री गर्ने गरेको छ । कतिपय बिक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित पालिकाले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारबाही गर्नुपर्ने माग किसानको छ । पर्सामा ९० प्रतिशत किसान व्यावसायिक रूपमा धान खेती गर्दै आएका छन् । पर्सामा कुल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर