Aamsanchar

‘जसो गर,जे भन जता सूकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो ’ आउदा ल्याउने, नआउदा पठाउने

Author Image
शुक्रवार, असार १८, २०७८

‘जसो गर,जे भन जता सूकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो

मलाई गर्व छ हाम्रो पूर्खाले कति व्यथाहरु सहेर इतिहासमा कथा त लेखे कै छ जसो गर,जे भन जता सूकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो’

यो गीत झापा मेचीनगर मेचीनगर—६ काँकरभिट्टा निवासी धन (किरण) गुरुङको जीवनसँग ठ्याक्कै मेल खान्छ । उहाँले बेलायतमा बसेरै पनि नेपाल र नेपाली जनता त्यसमा पनि झापालीप्रति देखाएको सदभाव, माया ममताको यतिखेर चौतफी प्रशंसा हुने गरेको छ ।

लामो समयसम्म बेलायती सेनामा कार्यरत उहाँले सैनिक पेशाबाट सेवा निवृत्त भएपछि राजनीति यात्रा शुरु गर्नुभयो । सन् २००७ देखि २०११ सम्म वेलायतको फोक्सटन सिटीको काउन्सिलर मात्र बन्नु भएन उहाँ बेलायतमा काउन्सिलर निर्वाचित हुने पहिलो नेपाली नागरिक हुने अवसर पनि प्राप्त गर्नुभयो र अर्काे परिचय उहााले बनाउनुभयो । उहाँले बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई बेलायती समुदायमा परिचय गराउन समेत पहल गर्नुभयो ।

उहाँ बेलायतमा बसेपनि गीतले भने झै उहाँ जहाँ जहाँ गएर जे जे गरे पनि नेपाली हुन्मा धेरै गर्व गर्नुहुन्छ । आफ्नो मातृभूमि नेपाल त्यसपछि गृह जिल्ला झापा अनि गृहनगर मेचीनगरको कति माया छ उहाँलाई भन्ने पुष्टि उहाँले समय समयमा गरेको साथ सहयोगले समेत पुष्टि गर्छ । उहाँले बेलायतमा बसेरै पनि नेपाल र नेपाली जनता त्यसमा पनि झापालीप्रति देखाएको सदभाव, माया ममताको प्रशंसा जति गरे पनि कम हुन्छ । नेपालको शिक्षा सामाजिक तथा स्वास्थ्यक्षेत्रमा निक्कै योगदान पुर्याउनुभएको छ ।

उहाँकै पहलमा बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच औपचारिकरुपमा भगिनी सम्बन्ध कायम भएको छ । यो सँगै विदेशको नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यमा मेचीनगर झापाको पहिलो नगर बन्यो । उहाँकै कारण मेचीनगर प्रमुख विमल प्रमुख आचार्यले बेलायतको विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएर मेचीनगर र बेलायतको फोक्सटन सिटी सहित त्यस क्षेत्रका अन्य शहरहरुसंग द्विपक्षिय सम्बन्ध स्थापित गर्ने बिषयमा छलफल गर्नुभएको थियो । त्यसवेला दुई शहरबीच भगिनी सम्बन्ध कायम गर्न सहमति भएको र बेलायतका उच्च पदस्थहरुसँग विशेष गरी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा छलफल गर्ने अवसर मेचीनगरले प्राप्त गरेको थियो ।

नगरप्रमुख आचार्यले मेचीनगरवासीकातर्फबाट नेपाल र बेलायत तथा नेपाली र बेलायती जनताबीचको भगिनी सम्बन्धलाई अझ मजवुत बनाउन युकेका उच्च पदस्थ अधिकारीहरुलाई मेचीनगर भ्रमणको औपचारिक निमन्त्रणा गरे लगत्तै बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि बेलायती प्रतिनिधि मण्डल नेपाल आएको थियो ।

द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्सटन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङसहितको ५ सदस्यीय वेलायती प्रतिनिधि मण्डलमा बेलायतको फोक्सटन सीटीका प्रमुख जेकी माइड, समितिका सचिव नेलजोन, फोक्सटन टाउन च्याम्वर अफ कर्मसका चियरम्यान रे जोनसन, आइटि इञ्जिनियर ओलीभर रविन्सन्सलगायतको टोली थियो । सोहि अवसरमा दुई नगरप्रमुखबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मेचीनगर नगरपालिकाकातर्फबाट १८ नोभेम्वर २००६ मा वेलायतको फोक्सटन सीटीलाई भगिनी सम्बन्ध स्थापनाका लागि अनुरोध गरिएका थियो । नेपालको अनुरोधलाई स्वीकादैं ११ अप्रिल र २३ सेप्टेम्वर २००८ मा मेचीनगरपालिकालाई भगिनी सम्बन्धका लागि दोहोरो पत्रचार भएको थियो । तत्कालिन नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट २०६४ साल कात्तिक २१ गते भगिनी सम्बन्धकालागि स्वीकृत प्राप्त भएको थियो । त्यसपछि मेचीनगर र फोक्सटन सिटीको सम्बन्ध झन प्रगाढ हुदैं गयो ।

मेचीनगरका हरेक दुःख सुखमा फोक्सटनको साथ उत्तिकै रह्यो । जस्को पूलको काम उहाँ धनकिरणले नै गर्नुभएको छ । २०५३ साल तदनुसार १९९६ मा स्थापना भएको मेचीनगर नगरपालिका र युकेको फोक्सटन नगरबीचको भगिनी सम्बन्धले मेचीनगरका झण्डै डेढलाख र फोक्सटन सिटीका ५० हजारबढी जनतालाई एक आपसमा जोडेको छ । यो जोड्न धनकिरणको महत्वपूर्ण भूमिका छ । गुरुङले द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहलमा भारतीय राजदुताबास मार्फत प्राप्त टाटा कम्पनिको सुमो एम्बुलेन्स औषधि र अन्य उद्दारका सामाग्री समेत नगरपालिकालाई उपलब्ध गराउनुभएको छ ।

उहाँले काँकरभिट्टा माविमा अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको स्थापना समेत गर्नुभएको छ । पुर्व काउन्सिलर गुरुङकै पहलमा काँकरभिट्टा माविका लागि २८ लाख रुपैयाँ मुल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान भएको थियो । उहाँले सुविधा सम्पन्न बारुणयन्त्र र एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराउन खोजे पनि विभिन्न कारणले आधा बाटैबाट फर्किएको थियो ।

उहाँ नेपाल आउदा प्रत्येक नेपालीले भन्ने गर्छन् उ नेपाल आउदा केही न केही कोशेली लिएरै आउछन् । आउन नपाउँदा पठाउछन् । साच्चै उहाँ अहिले नेपाल आउन पाउनु भएन । र, झापा मेचीनगरका नगरवासीलाई भनेर ६ लाख रुपैयाँ बढि मूल्यका स्वास्थ्य सामाग्री पठाउनुभएको छ । कोभिड १९ को महामारीबाट बच्न भन्दैं मेचीनगरवासीलाई उहाँले पठाएका सामग्री मेचीनगर नगरपालिकाले ग्रहण गरेको छ ।

द गोर्खा मेमोरियल फाउण्डेसन यूकेले झापाको मेचीनगर नगरपालिकालाई ६ लाख रुपैयाँ बढि मूल्यका स्वास्थ्य सामाग्री प्रदान गरेको हो । द गोर्खा मेमोरियल फाउण्डेसन नेपाल शाखाको समन्वयमा नगरपालिकालाई प्राप्त ती सामग्री शुक्रबार नगरपालिकामा आयोजित स्वस्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा शाखाका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगर प्रमुख विमल आचार्यलाई सम्पूर्ण सामग्रीको विवरणसहितको पत्र प्रदान गदैं हस्तान्तरण गर्नुभएको थियो ।

कोभिड १९ नियन्त्रण, रोकथाम तथा स्वस्थ्य उपचारमा सहयोग पुगेस भन्ने उद्घेश्यले मेचीनगर लाई अक्सिजन सिलिण्डर सहितका ३० थान अक्सिजन सिलिण्डर, पीपीइ सेट मास्क र सेनिटाइजर गरी सामगं्री ६ लाख ४ हजार रुपैयाँ मूल्य बराबरको रहेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट मेचीनगर पनि नराम्री प्रभावित भएको छ । कोभिड १९ कै कारण मेचीनगरले एक जना वडा अध्यक्ष, दुई जना कर्मचारी सहित २५ जना भन्दा बढि नागरिक गुमाउनु परेको छ । यस्तो विषम परिस्थितिमा कोभिड १९ संक्रमण भई अक्सिजन अभावका कारण कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले बेलायतमा रहनु भएका पूर्व काउन्सिलर धनकिरण गुरुङको पहलमा यो सहयोग जुटेको फाउण्डेसनले जनाएको छ ।

स्वास्थ्य सामग्री बुझ्दै मेचीनगरका प्रमुख विमल आचार्यले गोर्खा मेमोरियल फाउण्डेसन र युके अध्यक्ष धनकिरण गुरुङलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रमुख आचार्यले बेलायतमा रहनु भएका गुरुङ मार्फत मेचीनगरले महत्वपूर्ण सहयोग प्राप्त गरिरहेको बताउनुभयो । फाउण्डेसनका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षता तथा सन्तोष आचार्यको सञ्चालनमा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, फाउण्डेसनका उपाध्यक्ष गंगालाल गुरुङ, महासचिव जगत गुरुङ लगायतको सहभागिता रहेको थियो । सो सामग्री हस्तान्तरण गर्ने कार्यको संयोजन गोर्खा मेमोरियल फाउण्डेसन नेपालले गरेको फाउडेसनका महासचिव जगत गुरुङले बताउनुभयो ।

गुरुङकै पहलमा रोल्पाको थवाङको वीर भलभद्र माविमा ‘मिस ज्वाना लुम्ली कम्प्युटर टेक्नोलोजी एजुकेशस सेन्टर’ सञ्चालन भएको छ । गुरुङले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं उनलाई बेलायतमा ‘होम अफिस स्ट्रोङ्ग ब्रिज’ सम्मान प्रदान गरिएको थियो । उहाँ जहिले पनि मेचीनगर क्षेत्रभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत विकास गर्न सोच बनाएर अघि बढिरहनु भएको छ । अझ उहाँ दुई शहरबीच दोहोरो सहयोग आदान प्रदान गर्न एक अर्का बीचका कला, संस्कृति रीतिरिवाजलाई सजिलै चिन्ने अवसर के गरेर मिलाउन सकिन्छ त्यसतर्फ हुनहुन्छ ।

धेरैले भन्ने गरेका छन् ‘धन किरणले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निभाएको बेलायतमा बसेरै पनि नेपाल र नेपाली जनता त्यसमा पनि झापालीप्रति देखाएको सदभाव, माया ममता, नेपालको स्वास्थ्य शिक्षालगायत सामाजिकक्षेत्रमा पुर्याएको योगदान प्रशंसा गर्न योग्य छ । यो भगिनी सम्बन्ध कायम गर्न समेत उहाँ ‘माइल स्टोन’को रुपमा खडा हुनु भएको छ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर