Aamsanchar

यौन शिक्षा : महिनावारी सम्बन्धी जानकारी

Author Image
आइतवार, असार २०, २०७८

महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । त्यसलाई हामी महिनावारी भएको भन्छौ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ । पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ ।

महिनावारी प्रक्रियाको समयमा

महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । महिनावारीको एक पुरा चक्र औसतमा २८ दिनको हुन्छ । एक पटकको महिनावारीबाट अर्को पटकको महिनावारी हुने समय कसैमा लामो त कसैमा छोटो हुन्छ । त्यस्तो अवस्थामा तपाईंले चिन्ता लिनु पर्दैन किनकि त्यसलाई सामान्य नै मानिन्छ । त्यसै गरी तपाईंको महिनावारी २१ दिन वा ३५ दिनमा भए पनि त्यसलाई सामान्य नै मान्न सकिन्छ । धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ (केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिनु)। नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५–७ दिनसम्मको हुन्छ ।

प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ । धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ ।
महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई अंग्रेजीमा (ovulation)  भनिन्छ । महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई पेटको वरिपरि दुखेको अनुभव हुन्छ । हरेक महिना परिपक्व डिम्ब डिम्बाशयबाट निस्केर डिम्ब बाहिनी नली हुदै पाठेघरसम्म आउछ । उक्त समयमा असुरक्षित यौन सम्पर्क भएमा र योनिभित्र नै वीर्य खसालेमा डिम्बलाई शुक्रकीटले निषेचित गर्न सक्छ र निषेचित भएमा महिला गर्भवती हुन्छिन् । यदि डिम्बको शुक्रकीटसंग मिलन भएन भने बच्चा हुर्काउनका लागि पाठेघरमा बन्दै गइरहेको उपयुक्त वातावरण प्रक्रिया आवश्यक पर्ने रागरसहरू (Hormones) को वृद्धि जसका कारणले पाठेघरको भित्तामा बनिरहेको रगतको तह रोकिन्छ र नियमित महिनावारी प्रक्रिया सुरु हुन्छ ।

महिनावारी करिब ४५ वर्षको उमेरसम्म रहन्छ । यही उमेरका हाराहारीमा महिलाको महिनावारी रोकिन सुरु हुन थाल्छ र त्यसपछि महिला गर्भवती हुन सक्दिनन् ।
महिनावारी रोकिएमा यदि तपाई असुरक्षित यौन सम्पर्कमा संलग्न हुनु भएको छ भने तपाईं गर्भवती भएको हुन सक्नु हुन्छ । जसको कारण तपाईंको महिनावारी रोकिएको हुन सक्छ । त्यसकारण त्यस्तो अवस्थामा तपाईंले नजिकैको औषधी पसल तथा स्वास्थ्य संस्थामा गई सामान्य गर्भवती जाँच गराउन सक्नु हुन्छ । महिलाहरूको शरीर संवेदनशील हुने हुदा धेरै चिन्ता, तनाब वा धेरै भ्रमण गर्नु पर्ने अवस्थामा तथा धेरै बिरामी भएमा पनि तपाईंको महिनावारी केही हप्ता अगाडि पछाडि हुन सक्छ । प्रायशः केटी महिलाहरूमा नियमित (कसैको एक हप्ता अगाडि त कसैको एक हप्ता पछाडि) महिनावारी हुन्छ नै भन्ने छैन। त्यसैले आफू कुन मितिमा महिनावारी भइयो भनेर थाहा पाइ राख्न र महिनावारी किन भएन भनी चिन्तामा बस्न नपरोस् भन्ने हेतुले तपाईंले आफ्नो महिनावारीको मिति क्यालेन्डरमा वा डायरीमा लेखि राख्नु राम्रो हुन्छ ।

महिनावारी हुदा किन तल्लो पेट र ढाड दुख्छ

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

महिनावारी हुदा पेट दुखेमा

घरेलु तरिका अपनाएर पनि हामीले महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैली (Hot bag) मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ । रबडको थैली नभएका खण्डमा सिसी (Bottle)  मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ । त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ । धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाइ गर्नु हुदैन । माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो । त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन ।

महिनावारी हुदाँ यौन सम्पर्क

महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन । एक स्वस्थ केटी/महिलासंग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।

महिनावारीको वेला असुरक्षित यौन सम्पर्क (परिवारनियोजनका साधन प्रयोग नगरी) गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति वेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो । त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर यदि कसैको महिनावारी छिटो छिटो जस्तैस २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ – ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भ निरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ । श्रोत : केन्द्रिय युवा सुचना केन्द्र 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर