Aamsanchar

सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई झापा कारागारका कैदीबन्दीको सहयोग

Author Image
बिहिवार, असार २४, २०७८

झापा – सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई झापा जिल्ला कारागार भद्रपुरका कैदीबन्दीले आर्थिक रकम सहयोग गरेका छन्। झापाका कैदीबन्दीहरुले एक छाक काटेर जम्मा गरिएको ५१ हजार १०० रुपैयाँ सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई सहयोग गरेका हुन्‌।

कारागारका आन्तरिक प्रशासन प्रमुख (चौकीदार) शेरबहादुर थेबेले झापा कारागारका प्रमुख राजेन्द्रप्रसाद गौतमलाई सो रकम मंगलबार हस्तान्तरण गरेका हुन्‌। गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका ६ वटा बजार तथा मानव बस्तीमा ठुलो धनजनको क्षति पुर्याएको छ।

प्राकृतिक प्रकोप र विपत्तिले वर्षेनी नेपालमा ठुलो धनजनको क्षति हुँदै आएको छ। सिन्धुपाल्चोकमा आएको बाढी पहिरोले त्यहाँका पीडित परिवारलाई अहिले देश तथा विदेशबाट सहयोग आइरहेको छ। यस्तो अवस्थामा त्यहाँका पीडित परिवारलाई झापाका कैदीबन्दीले पनि थोरै भएपनि केही सहयोग गर्ने उद्देश्यका साथ आर्थिक सङ्कलन गरी रकम पठाएको बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले जानकारी दिए। सरकारले कैदीबन्दीलाई दिनको ६० रुपैयाँ नगद र ७०० ग्राम चामल दिँदै आएको छ।

त्यही खर्चबाट कैदीबन्दीले एक छाक कटाएर रकम सङ्कलन गरेको बन्दी विकास पुस्तकालयका सदस्य रमेश पोखरेलले जानकारी दिए। कारागारका कैदीबन्दीले प्राकृतिक प्रकोप र विपद्‌मा परेका पीडित परिवारलाई यसअघि पनि सहयोग गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर