Aamsanchar

‘युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र होइन’

Author Image
बिहिवार, असार ३१, २०७८

यो वर्षको ‘विश्व युवा दक्षता दिवस’ विश्वभर अलिक चुनौति अनि विषम परिस्थितिबीच मनाइनेछ । कोभिड–१९ महामारी अनि लकडाउन र बन्दाबन्दीबीच यो वर्षको युवा दक्षता दिवस परेको छ । कोभिड–१९ पछिको विश्व, रोजगारी बजार, सीप अनि सीप हस्तान्तरणका नयाँ आयाम र प्राविधिक संरचनाका विषयमा केन्द्रित हुने देखिन्छ ।

स्वरोजगार, रोजगार अनि रोजगारी बजारमा कोभिड–१९ ले निकै प्रतिकूल असर अनि ठूला–ठूला रूपान्तरणहरू ल्याउने पक्का भएको छ । यसको आवश्यकता बमोजिम युवाहरूलाई परिवर्तन अनि आत्मसात् गराउन सक्नु नै आजको आवश्यकता हो । सन् २०२१ को ‘विश्व युवा दक्षता दिवस’ले महामारीपछिको सीप र युवाको भूमिकामा विशेष प्रकाश पारेको छ ।

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरुपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।

वयस्कहरूभन्दा युवाहरू बेरोजगार रहने सम्भावना तीन गुणाले बढिरहेको तथ्यांकहरूले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरूले रोजगार पाइहालेमा पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरू बेरोजगार रहने सम्भावना झनै बढी छ । अनि पाएको रोजगारबाट उनीहरूले धेरै नै कम तलब पाउँछन् । अस्थायी काममै चित्त बुझाउने गर्छन् । मिहिनेतको पैसा थाप्ने रहर हरेक मानिसमा हुन्छ । युवा–युवतीहरू छातीमा जोश र पाखुरामा बल हुँदा–हुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोशको दम्भलाई कामको भारीले थिचेर पाएको धेरथोर पैसा चूप लागेर लिन बाध्य छन् ।

अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरू बेरोजगार भएको र बेरोजगारी दर १३.१५ भएको देखाएको थियो । यो संख्या सन् २०१७ मा विश्वका प्रायः मुलुकहरूमा बढी सक्ने आँकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अंक गणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।

युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र होइन, यो संरचनात्मक बेरोजगारीको समस्या हो । विश्वभरिको अध्ययन अनुसन्धान र पद्धतिले पनि यही देखाउँछ । कामदारहरूको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढेको हो । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरूको आवश्यकता बढ्दै गइरहेको छ । यही आवश्यकता पूर्तिका लागि विभिन्न उपभोग्य वस्तु तथा सेवाहरू समेत बढ्दै गइरहेका छन् ।

सामाजिक जटिलता बढ्दो छ । यसकारण पनि बजार फस्टाउँदो छ । यही फस्टाउँदो बजारले उच्च दक्ष भएका कामदारहरूको माग गरिरहेको छ । निम्नस्तर भनिएका कामहरूमा पनि दक्ष कामदारले काम पाउने हो भने उसले आधारभूत आवश्यकताहरू पूरा गर्न सक्ने हैसियत राख्न सक्छ । यसको उदाहरण विकसित भनिएका देशहरूमा हामीले निम्नस्तरका काम भनी चिन्दै आएको ड्राइभिङ, क्लिनिङ, आदिजस्ता कामबाट आउने आम्दानीबाट पनि देख्न सक्छौँ । यसले विश्वभर दक्ष जनशक्तिको आवश्यकता बढ्दै गइरहेको स्पष्ट देखाउँछ ।

संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरूमा नकारात्मक प्रभाव पार्छ । यसले विश्व अर्थतन्त्रमा मात्र नभई समावेशी र समान समाज निर्माण गर्ने सन् २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । युवाहरूलाई सक्षम बनाउन उनीहरूको सीप विकास गर्नु प्राथमिक माध्यम हो । सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरूलाई सीप र रोजगारीका अवसर प्रदान गर्ने मुख्य ध्येय राखेको छ । दिगो विकासको लक्ष्यको ४.४ मा सन् २०३० सम्म दक्ष सीप भएका युवा तथा वयस्कहरूमा उल्लेखनीय वृद्धि गर्ने भनेर लेखिएको छ ।

दिगो विकासका लक्ष्यको जिम्मा संयुक्त राष्ट्रसंघको मात्र होइन । अझ भन्नुपर्दा उसले पूरा गर्ने नै होइन । यो हरेक राष्ट्र र समुदायले अपनत्व लिएर आफ्नो समाजको विकासका लागि आफैँ प्रयास गर्ने हो । नेपालको युवाको जिम्मा नेपालले नै लिने हो । देश संघीय संरचनामा गइसकेकाले अब त हरेक गाउँपालिका र नगरपालिकाका युवाहरूको दायित्व सम्बन्धित पालिकाले नै गर्नपर्छ ।

युवालाई कसरी हुन्छ बजारको माग अनुरूप दक्ष बनाउने कर्तव्य समुदायको हो । यसमा युवाले पनि आफ्नो काम, कर्तव्य, जोश र जाँगरको सही सदुपयोग गर्नुपर्ने हुन्छ । जबसम्म युवा, समुदाय र सरकार बेरोजगारी न्यूनीकरणका लागि काम गर्दैनौँ, तबसम्म माथिबाट लादिएका नीति तथा कार्यक्रमले मात्र बेरोजगारी हट्न सक्दैन ।

नेपालमा युवा तथा साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने भन्दै अनेक क्रियाकलाप तथा कार्यक्रम सञ्चालनमा नल्याएको पनि होइनन् । स्वरोजगारीका लागि ऋणमा सहजीकरण गर्नेदेखि, स्वरोजगारीका क्षेत्र पहिचान र सम्भाव्यता अध्ययनमा पनि कोषले ध्यान पुर्याउँदै आएको छ । तर, यसले आशातित लाभ दिन भने सकिरहेको छैन । यसको मुख्य कारण भनेको युवाहरूमा यस कार्यक्रमसम्बन्धी सूचना नपुग्नु र सीपयुक्त बेरोजगार युवा भनिएको ठाउँमा सीपयुक्त युवा बनिनसक्नु हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१
हाँस्न भुल्दै गएको पुस्ता
बिहिवार, असोज २४, २०८१