Aamsanchar

प्रदेश १ मा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

Author Image
मङ्गलवार, साउन ५, २०७८

विराटनगर – अन्न भण्डारको उर्वरभूमि मानिने प्रदेश १ मा साउनको पहिलो हप्तासम्म ८० प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ मा सबैभन्दा बढी तराईका जिल्लामा धान रोपाइँ भएको हो । तराईका तीन जिल्लामा दुई लाख २५ हजार ८सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको र हालसम्म एक लाख ८७ हजार ६सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

त्यसपछि मध्य पहाडीमा क्षेत्रमा ७४ प्रतिशत धान रोपाइँ भएको छ । ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै मध्य पहाडी जिल्लामा हालसम्म ६६ हजार ८ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषिविकास निर्देशनालय प्रदेश १ विराटनगरले जनाएको छ । प्रदेश १ मा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको र हालसम्म २ लाख ७३ हजार ७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यतिबेला ८३ प्रतिशत धान रोपाइँ भएको थियो ।

उच्च पहाडी जिल्लाको सोलुखुम्बुमा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको छ । एक हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको र हालसम्म एक हजार ४ सय ४८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। यस वर्ष समयमै पानी परिरहेकाले रोपाइँ बढी भएको कृर्षि अर्थ विज्ञ नेत्रमणी काफ्लेले जानकारी दिए । उच्च पहाडी जिल्लाको ताप्लेजङमा ८ हजार ७सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ८५ प्रतिशतधान रोपाइँ भएको छ ।

संखुवासाभामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ७० प्रतिशत रोपाइँ भएको छ। त्यसैगरी मध्य पडाही जिल्ला ओखलढुङ्गमा ४ हजार ४सय ३ हेक्टर क्षेत्रफलमध्ये ६८ प्रतिशत धान रोपाइँ भएको हो। भोजपुरमा १८ हजार ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ८५ प्रतिशत धान रोपाइँ भएको छ । यस्तै धनकुटामा हालसम्म ७० प्रतिशत, तेह्रथुममा ७० प्रतिशत, उदयपुरमा ६४ प्रतिशत रोपाइँ भएको छ ।

त्यस्तै खोटाङमा ७५ प्रतिशत रोपाइ सम्पन भएको छ । पाचँथरमा ७५ प्रतिशत , इलाममा ६५ प्रतिशतधान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयले रोपाइँको सिजन अहिले रहेकाले पहाडी जिल्लामा साउन भरी रोपाइँलाई उपयुक्त मानिने जनाएको छ । तराईका जिल्लामा भदौ १५ सम्म धान रोपाइँ हुने गरेको कृर्षि अर्थ विज्ञ काफ्लेले जानकारी दिए ।

प्रदेश १ को तीनवटा तराइँका जिल्लामा धान रोपाइँ उल्लेख्नीय नहुनुमा सुनसरी मोरङ सिचाइँ योजनाको नहरमा रोपाइँको बेलामा पानी नछोड्नु र अकाशे पानी समेत निरन्तर नभएकाले धान रोपाइ प्रभावित भएको बताइएको छ। झापामा ८८ प्रतिशत धान रोपाइँ सकिएको छ। झापा धानजोनको रुपमा स्थापीत छ । मोरङमा भने ८० प्रतिशत धान रोपाइँ भएको छ । मोरङमा ८३ हजार ३ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ७७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

२०७२ सालमा अविरल वर्षासँगै आएको बाढीले मोरङको लोहन्द्राखोलामा आएको बाढीले नहर बगाउँदा लोहन्द्रादेखि दक्षिण केराउनसँगै रंगेलीसम्म र कानेपोखरी रंगेली रोडको पश्चिमका करिब १० हजार हेक्टर खेतमा पानी अभावमा रोपाइँ प्रभावित बनेको बताइएको छ । सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमध्ये ८० प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर