Aamsanchar

पोर्चुगलका फरवार्ड रोनाल्डोले युभेन्टस छाड्ने

Author Image
शुक्रवार, भदौ ११, २०७८

काठमाडौं –पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ क्लब युभेन्टस छाड्ने पक्का भएको छ । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलले आज रोनाल्डोले क्लब छाड्ने पक्का भएको बताएका हुन् ।

‘‘रोनाल्डोले मलाई हिजो क्लबमा बस्ने चाहना नभएको बताएका थिए । त्यसकारण उनी भोलि हुने इम्पोलीविरुद्धको टोलीमा समावेश छैनन्,’’ प्रशिक्षक एलेग्रीले भने, ‘‘धेरै कुरा परिवर्तन भइरहन्छन् । यो जीवनको नियम हो । युभेन्टस सँधै रहिरहन्छ, त्यो महत्वपूर्ण कुरा हो । रोनाल्डोको योगदान दिए । उनी हिजो हाम्रा लागि उपलब्ध भए, आज छाडेर जाँदैछन् । जीवन यसरी नै चालिरहन्छ ।’’

रोनाल्डो इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलिरहेका बेला प्रशिक्षकको यस्तो भनाइ आएको हो ।

३६ वर्षीय रोनाल्डो २०१८ मा रियाल मड्रिडबाट युभेन्टस आएका थिए । युभेन्टसमा रोनाल्डोले १४० खेलमा १०४ गोल गरिसकेका छन् । रोनाल्डो २००९ मा प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडसँग अनुबन्ध भएका थिए । ‘‘क्लबका लागि जति पनि योगदान गरे त्यसका लागि रोनाल्डोलाई धन्यवाद । उनीबाट युवा खेलाडीले धेरै कुरा सिक्नुपर्छ । तर, हामी उनीविना पनि अगाडि बढ्नैपर्छ,’’ युभेन्टसका प्रशिक्षक एलेग्रीले भने ।

युभेन्टस इटालियन सिरी ‘ए’ लिगमा नयाँ सिजनको पहिलो खेलमा युडिनेसविरुद्ध २–२ को बराबरी खेलेको थियो । दोस्रो खेल युभेन्टसले घरेलु मैदानमा इम्पोलीविरुद्ध खेल्नेछ । ‘‘इम्पोली राम्रो टोली हो । हामीले उनीहरूविरुद्ध खेल्न पूर्ण तयारी गरेका छौँ । युडिनेसविरुद्ध जित निकाल्न नसक्दा म धेरै निराश भएँ,’’ एलेग्रीले भने, ‘‘भोलि मैदानको माहोल पनि राम्रो हुनेछ । लामो समयपछि रंगशालामा दर्शक फर्किएका छन् । हामी घरेलु दर्शकलाई खुशी बनाउन तयार छौँ ।’’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर