Aamsanchar

अझै खोलिएन कोशी ब्यारेजका सबै ढोका

Author Image
सोमवार, भदौ १४, २०७८

सुनसरी- पाहाडी जिल्लाहरूमा लगातारको वर्षापश्चात् सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। आइतबार साँझ सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ७४ हजार क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए।

सप्तकोशी पानीको बहाव उच्च भएपश्चात् कोशी ब्यारेजका ५६ मध्ये ४० वटा मात्र ढोका खोलिएको छ। सुनसरी प्रशासनको आग्रहमा भारतले ४० ढोका खुल्ला गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्। सप्तकोशीमा पानीको बहाव उच्च भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका ६ को गरैया टापुमा गोठालो गएका ४० भन्दा बढी सर्वसाधारण त्यही फसेका थिए।

उनले गरैया टापुमा फसेका केही स्थानीयलाई सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरी उद्धार गरिएको भए पनि धेरैजसोले उद्दार हुन नचाहेकाले सुरक्षाकर्मीहरुको टोली त्यसै फर्किएको बताएका छन्।

गरैया टापुमा बराहक्षेत्र नगरपालिका ठाकुरबारीका सर्वसाधारण गाई, भैंसी पालेर उतै बस्दै आएका छन्। गैरैया टापुमा बिहान गएर बेलुका घर फर्कने उनीहरुको दिनचर्या हो। धेरै गाई भैंसी पालेका कारण केही पीडितहरुले घर फर्कन नचाहेको प्रजिअ ढकालले बताए। उनले कोशीको बीचमा फसेका १० जनालाई उद्दार गरिएको बताए।

सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै श्रीलंका टापुमा मानव बस्ती र खेतीयोग्य जमिन कटान तीव्र पारेको छ। सप्तकोशीको पश्चिम क्षेत्र श्रीलंका टापुको सोमबारेको डुडखोलामा कोशीले धार परिवर्तन गर्दा हजारौं बिघा जमिन कटान गरेको छ। डुडखोलामा कोशीले धार परिवर्तन गर्न लागेको स्थानमा उदयपुरतर्फका सुरक्षाकर्मी आएर कटान नियन्त्रणको काम गरिरहेको स्थानीय सन्तोष चन्द्रबंसीले बताए।

उनले महिनादिनदेखि कोशीले पश्चिम क्षेत्र कटान गर्दासमेत बस्ती र त्यहाँका सर्वसाधारणको सुरक्षामा सरकारले चासे नदेखाएको गुनासो गरे। प्रत्येक वर्ष असार, साउन र भदौ महिनामा कोशीको त्राशले १० हजार भन्दा बढी सर्वसाधारण त्रासमा रात बिताउन बाध्य छन्।

सप्तकोशीमा पानीको बहाव उच्च भएपश्चात् भारतले कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालेको छ। कोशी ब्यारेजमा खतराका संकेत स्वरुप रातो बत्ति बालिए पनि सबै ढोका नखोलेका कारण कोशीले श्रीलंका टापु र ठाकुरवारि क्षेत्रमा डुवान गरी खेती योग्य जमिन र मानव बस्तीमा कटान गरेको कोशी पीडित संर्घष समितिका अध्यक्ष मिश्रीलाल महतोले बताए।

२०६५ साल भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो। कोशी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, पश्चिम कुशाहा र लौकही गाविसमा हजारौं बिघा खेतियोग्य जमिन मरुभुमि बनाउनुका साथै ५ हजारभन्दा बढी घर परिवारको उठिवास बनाएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर