Aamsanchar
Adv top
Adv below_nav

तनाव व्यवस्थापन गर्ने तरिका !


प्रतिकात्मक तस्वीर । फोटो श्रोत : गुगल

सर्वसाधारण मान्छेहरूले मनोविज्ञानको अर्थ मनको विज्ञानसँग लगाएको पाइन्छ भने मनोवैज्ञानिकहरूले मानवीय व्यवहार र मानसिक प्रक्रियाको वैज्ञानिक अध्ययन गर्नु हो भनेका छन् ।

लामो समय घरभित्रै बस्दा अनि एकै प्रकारका मानिसहरूसँग निरन्तर सम्पर्कमा रहँदा र एकै प्रकारको दैनिकी बिताउँदा मान्छेको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले हामीले मानसिक स्वास्थ्यमा ध्यान दिनु निकै जरुरी छ ।

मानसिक तनाव के हो ?

मानसिक तनाव रद बाब शब्द बुझ्न जति सजिलो छ, त्यति नै यसलाई व्याख्या गर्न कठिन छ । विभिन्न मनोवैज्ञानिकहरूले यसलाई भिन्न तरिकाले परिभाषित गरेको पाइन्छ । सन् १९३६ मा हान्स सेलएले यो शब्दलाई प्रयोगमा ल्याएका हुन् । उनका अनुसार हाम्रो शरीरले कुनै परिवर्तनको माग हुँदा देखाउने गैरविशिष्ट प्रतिक्रिया हो, जुन वातावरणीय मागहरूलाई स्ट्रेस भनिन्छ । सन् २००३ मा एस पी रविन्सले भनेका छन्– स्ट्रेस शरीरको त्यस्तो अवस्था हो, जहाँ व्यक्ति केही अवसर, अवरोध वा निजले चाहना गरेका परिणामहरू अत्यन्तै महत्त्वपूर्ण अनि अनिश्चित छ भनी सामना गरिरहेको हुन्छ, त्यो शरीरले आभास गर्दछ । सामान्य अर्थमा यसलाई मानसिक तनाव पनि भनिन्छ ।

व्यवहार के हो ?

मानिसको व्यवहार देखिने र नदेखिने र भावनात्मक गरी विभिन्न हुन्छन् । तसर्थ, मनोवैज्ञानिकहरूको कार्य तिनका व्यवहारको वर्णन, व्यवहारको व्याख्या, भविष्यवाणी र नियन्त्रण गर्नु हो ।

अहिले कोभिड– १९ महामारीले गर्दा व्यक्तिगत विशेषताहरू जस्तो, कसैले भाग्यमा जे हुन्छ, देखा जायेगा भन्ने हुन्छन् भने कसैले मेरो कारणले यस्तो हुन गयो भनी आफैँलाई दोष दिइरहेका हुन्छन् । कोही व्यक्ति दिक्कपना हुँदै तनाव लिएर दबाबमा पुग्न सक्छ ।

होम क्वारेन्टाइनमा बस्दा के हुन्छ ?

अत्यधिक तनावको अनुभूति, आत्तिनु वा व्याकुल हुनु, अनावश्यक सोचहरू आइरहने, दुस्खित, कष्ठ सम्झेर रुन मन लाग्ने, पहिले–पहिलेका रमाइरहेका कुराहरूमा रमाउन नसक्ने र शारीरिक समस्या जस्तै, नाडीको गति बढनु, मुटुको धड्कन बढ्नु, पाचन प्रणाली गढबढ हुनु, थकित अनुभूति गर्नुका साथै नैराश्य उत्पन्न हुनुजस्ता लक्षण देखिन सक्छन् ।

यस्तै, शारीरिक क्रोध र बढी रिस उठ्नु, छटपटी भइरहनु तथा एक्लो अनुभव गर्नु, ध्यान केन्द्रित गर्न कठिनाइ हुनु, निद्रामा कठिनाइ आउनु, अरूबाट एक्लिएको वा टाढिएको महसुस गर्नु आदि लक्षणहरू पनि देखिन सक्छन् ।

युवा पुस्ताको जिम्मेवारी के हो ?

२० देखि ४० वर्ष उमेरकाहरूको यस्तो अवस्थामा विशेष जिम्मेवारी हुन्छ । युवा पुस्तामा मानसिक तनाव त्यति नहुने र शारीरिक क्षमता पनि बढी हुने भएकाले माथिल्ला पुस्ता र तल्लो पुस्ताको विशेष निगरानी गर्ने जिम्मा तिनले लिनुपर्छ । उनीहरूले माथिका र तलका पुस्ताबीच पुलको काम गर्नुपर्छ । पुस्ताहरूबीच समायोजनकारी भूमिका निर्वाह गर्नुपर्छ । परिवारमा रमाइलो वातावरण बनाउने काम उनीहरूले गर्नुपर्छ ।

युवा पुस्तामा पनि मानसिक तनाव भने हुन सक्छ किनकि जीवनको सबभन्दा सिर्जनशील उमेर यही हो । जीवनका अनेक आकांक्षा र सपना पूरा गर्ने उद्देश्य हुन्छ, त्यसमा अवरोध भएको महसुस भएको हुन सक्छ ।

कोरोनाको कराणले उत्पन्न आईपर्ने समस्याहरुको असर केवल मलाई मात्र परेको होइन, मेरो देशमा मात्र परेको होइन, सम्पूर्ण विश्वभर नै परेको हो र यसको असर सबैमा बराबर परेको छ भनेर सकारात्मक भइरहनुपर्छ ।

नकारात्मक सूचनाले के गर्छ ?

हाम्रो शरीरबाट निस्कने न्युरो ट्रान्समिटर वा हर्मोनमा गढबढी हुन्छ । त्यो गढबढीले हाम्रो दैनिकी र जीवन प्रणाली नै अस्तव्यस्त हुन्छ । कोरोनासँग लड्न हामीलाई आवश्यक हुन्छ, रोग प्रतिरोधक क्षमता ।

दबाब हुँदा मानिसमा रोग हुने सम्भावना हुन्छ । जस्तो, कुनै व्यक्ति एकदमै डर, रिस, शत्रुतापूर्ण संवेगहरू देखाउँछ भने उसको स्वास्थ्यमा हर्मोनको गढबढी भई व्यक्ति झर्किने, आवेगमा आउने तथा आशाविहीन अनुभव गर्न थाल्छ । यसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाई मान्छे शारीरिक तथा मानसिक बिरामी हुन पुग्छ ।

के हो शरीरको रोग प्रतिरोध शक्ति ?

हामी एउटै वातावरणमा बस्दा पनि कसैलाई रोग लाग्छ भने कसैलाई लाग्दैन । यसो हुनुको मुख्य कारण मानिसमा भएको रोगसँग लड्न सक्ने क्षमता वा रोगप्रतिरोध शक्ति हो ।

के हो शरीरको सुरक्षा प्रणाली ?

हाम्रो छाला, नाकको स्लेस्म, टन्सिल, आँशु, र्‍याल, पाचन रस, पसिना आदिलाई पहिलो सुरक्षा प्रणाली भनिन्छ । यिनले रोगका सूक्ष्म जीवाणुहरू मार्दछन् । त्यस्तै, कोष, तन्तु, सेता रक्तकोषलाई दोस्रो किसिमको सुरक्षा प्रणाली भनिन्छ, जसले रोगका जीवाणुहरू मार्ने गर्छन् ।

शरीरमा उत्पन्न हुने प्रतिविषलाई तेस्रो किसिमको सुरक्षा प्रणाली भनिन्छ । शरीरमा जीवाणु प्रवेश गरे त्यसले शरीरभित्र विष उत्पादन गर्दछ । सुरक्षा प्रणाली कमजोर भई रोग लाग्छ । तर शरीरमा प्रतिरोध शक्ति उत्पन्न हुन्छ र रोगका किटाणुलाई नष्ट पारी विषाणुको प्रभावलाई कमजोर पार्दछ । यसरी यो काममा सहयोग गर्ने र प्राकृतिक रोग प्रतिरोधक कोष तीन वटैको दबाबमा विषाणुसँग लड्न मद्दत गर्दछ ।

साइको न्युरो इम्युनोलोजी के हो ?

यदि दिमागमा नकारात्मक कुराहरू रहे भने मस्तिष्कका रसायन विज्ञानमा समस्या भई रोग प्रतिरोध प्रणाली कमजोर हुने हुन्छ । मनोविज्ञानको यो अध्ययनले यदि हाम्रो दिमागले मस्तिष्कमा सकारात्मक सूचनाहरू सम्प्रेषण गरे भने तीन वटै सुरक्षा प्रणालीमा समरूपता कायम रहिरहन्छ र रोग प्रतिरोध प्रणाली बलियो हुन जान्छ । यो अध्ययन गर्ने शास्त्रलाई साइको न्युरो इम्युनोलोजी भनिन्छ ।

१, संवेगात्मक असरहरू :  जस्तै, तुरुतै मुड परिवर्तन, अनियमित व्यवहारदेखि चिन्ता, उदासिनता र यसका लागि भावनात्मक सहयोग ।

२, शारीरिक असरहरू : एड्री नलिन र कट्रिसल हर्मोन अत्यधिक उत्पादनले मुटु तथा रक्तचाप बढ्ने, रक्त वाहिनीहरूमा बाधा पुग्छ । यसका लागि औषधोपचार पद्धति विधि उपयुक्त मानिन्छ ।

३, संग्यानात्मक असरहरू : जस्तै, मानसिक थकान, निर्णयात्मक शक्तिमा ह्रास, गलत निर्णय लिने, तर्क, वादविवाद तथा मेमोरी ह्रासका लागि थुप्रै साइकोथेरापीसहित संख्यात्मक ब्यवहार उपचार पद्धति ।

४, व्यावहारिक असरहरू : जस्तै, खान मन नलाग्ने, मद्यपान, धूमपानलगायत कुलतमा फस्ने, जसका लागि व्यवहार उपचार पद्धति आदि कारगर हुन्छन् । यसरी दबाबको प्रभाव ब्यक्तिको चार एरियामा पर्ने भएकाले विभिन्न उपचारात्मक विधि पनि अपनाउन सकिन्छ ।

पहिलो औषधी व्यवहार नियन्त्रण

  • केवल आफ्नो भावना र व्यवहारलाई नियन्त्रण गर्नुस् र यति गर्न सके तपाईं सुरक्षित रहन सक्नुहुन्छ
  • आफूमा भएका वा आएका भावनाहरूलाई स्वीकार गर्नुस् वा अपनाउनुस्
  • घरभित्र सकारात्मक वातावरण निर्माण गर्ने
  • बिहान उठ्नासाथ आफूलाई पहिलो सूचनाको रूपमा सकारात्मक सूचना दिने, म हिजोभन्दा आज बढी ठीक छु भन्ने
  • पारिवारिक बैठकहरू गर्नुपर्छ, साँझका बेला दैनिक रूपमा के–के गर्न सक्छौँ, भोलिको कार्यपालिका तयार गर्ने
  • कम्तीमा ६–८ घन्टा अनिवार्य सुत्नुपर्ने समावेश गर्नुस्
  • खानपिनमा अरू बेलाजस्तै सजग रहनुस्, सकभर शाकाहारी भोजन गर्नुस्
  • संगीत आफ्नो स्वास्थ्य र रुचिअनुसार सुन्नुस् । कम्तीमा १ घन्टा यो दैनिकी अनिवार्य गर्नुस्
  • बालबालिकाहरूलाई र आमाबुबालाई सेवा र सत्सङ गर्ने यो उपयुक्त समय हो । तसर्थ उनीहरूसँग स्वाभाविक तरिकाले प्रस्तुत हुनुस् । सबैले धैर्य र आत्मबल बढाउने काम गरौँ
  • नियमित व्यायाम, अभ्यास, योगा र ध्यान गरौँ ।
  • हामी सबैले गर्नुपर्ने र गर्न सक्ने अंग–व्यायाम हो । जोर्नी चलाउने र पिटी खेलेजस्तो गर्ने, जसले पनि जानेको काम गरौँ ।
  • सिर्जनशील क्रियाकलाप गर्ने, बच्चाहरूलाई पेन्टिङ, चित्रकला गर्न लगाउने, वयस्कले रमाइलो गर्दा घरभित्र खेल्न सकिने सामूहिक खेल, क्यारम बोर्ड, लुडो वा चेस भए पनि खेल्ने, सामूहिक रूपमा खानाको कुनै नयाँ परिकार बनाउने, नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले भनेका नियमहरूको पालना गर्ने एकअर्काबीचको भौतिक, शारीरिक दूरी कम गरौँ ।
  • सामाजिक दूरीलाई सामाजिक सञ्जाल,  सञ्चार प्रविधिबाट आफ्ना नातेदार, इस्टमित्रहरूसँग सम्बन्ध स्थापित गर्नुहोस् ।
  • फेसबुक वा अरू सामाजिक सञ्जालमा घरिघरि त्यही नकारात्मक सूचना प्रवाह गर्नेहरूले ध्यान दिऔँ कि यो तपाईंको मुहारजस्तै हो र मुहारमा तपाईंले नकारात्मक सन्देश दिँदा तपाईंका साथीहरूमा त्यसको डर, त्रास र चिन्ता उत्पन्न हुन सक्छ । यसले गर्दा व्यक्तिको आत्मबल कमजोर भएर रोगविरुद्ध लड्ने शक्तिमा ह्रास आउन सक्छ । यसर्थ आफैँलाई नियन्त्रण गर्नुहोस् ।

अन्त्यमा, केही समस्याहरू देखापरे, प्राथमिक सहयोगका लागि तालिमप्राप्त व्यक्ति, मानसिक स्वास्थ्यकर्मी, मनोविमर्शकर्ता, मनोविद्, मनोचिकित्सकहरूसँग सहयोग लिनुस् ।

यो सामग्री पदमराज जोशीले कन्तिपुरको नेपालमा लेखेको हो । यसलाई सभार गरिएको छ ।

मुख्य श्रोत सामग्री यस लिंकमा रहेको छ ।

 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।