Aamsanchar

मौरीपालक महासंघको माग : ‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्नुपर्छ

Author Image
सोमवार, भदौ २८, २०७८

दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ ।

यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार विज्ञप्ती नै जारी गरेको छ । मौरीपालक महासंघले गीत सम्प्रेषित र प्रकाशित गर्नेप्रति खेद प्रकट गर्दै कानुनी कारवाही गर्न आग्रह गरेको छ । साथै, यो गीतको प्रशारण बन्द गर्न पनि महासंघले माग गरेको छ ।

तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० देखि ३३ प्रतिशत भन्दा बढी उत्पादनमा बृद्धि भएको अवस्थामा उक्त गीतले गलत सन्देश प्रस्तुत गरेको मौरीपालक महासंघका अध्यक्ष शिव प्रसाद शर्माले बताए । उनले भने–‘मौरीले तोरी खाएपछि राम्रो उत्पादन हुँदोरहेनछ भन्ने खालको नकारात्मक सन्देश गीतले सम्प्रेषण गर्न खोजेको छ ।’ गीत सार्वजनिक भएको लामो समयसम्म जानकारी नपाएको र जानकारी पाउनासाथ विरोध जनाएको उनले बताए । उनले कृषि मन्त्रालय, गृह मन्त्रालयमा समेत यसबारे जानकारी गराएको बताए ।

यस गीतलाई नेत्र अर्यालले लेखेका हुन् । उनले शब्दलाई केवल विम्बका रुपमा मात्र प्रयोग गरिएको बताए । उनले गीत, संगीतमा धेरै कुराहरु विम्बका रुपमा प्रयोग हुने बताउँदै गीत सार्वजनिक भएको लामो समयपछि विज्ञप्ती आएकोमा आश्चर्य प्रकट गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर