Aamsanchar

गृहजिल्ला झापा आएर ओलीले भने : आगामी चुनावमा माधव नेपालकाे पार्टीले वडा सदस्य पनि जित्दैन

Author Image
मङ्गलवार, भदौ २९, २०७८

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो रोजेको आरोप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट कसैले हटाउन सक्ने थिएन, एमालेमा अनुशासनहीन कालो टीका लगाउने काम माधव नेपालले गरे। एमाले सरकार हटाउने मुख्य व्यक्ति माधव नेपाल नै हुन्।’

माधव नेपाल पार्टी फुटाएर पतनको बाटोमा लागिसकेकोले आउने चुनावमा एउटा वडा सदस्य पनि जित्न नसक्ने उनले दाबी गरे।ओलीले भने, ‘पार्टीको १६ वर्षसम्म महासचिव भए, विपक्षी दलको नेता भएर खाए, हामीले प्रधानमन्त्री बनाइदियौँ। खानु खाएपछि २४० सिटमा जम्मा ३३ सिटमा झारेर मैले पार्टी चलाउन सकिन भनेर महासचिवबाट आफैं राजीनामा गरेर हिँडे।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलेको कुरा जायज भएको पनि उनले बताए। ’प्रचण्डले हिजो ठीक कुरा गरेछन्, हामी त वडा अध्यक्ष पनि जित्न नसक्ने भयौं भनेर। माधव नेपालले त सदस्य पनि जित्न सक्दैनन्’ ओलीले भने, एमाले फुटाउनकै लागि संसद अन्त्य गरेर अध्यादेश ल्याइयो। एमाले विभाजन गर्नकै लागि नियोजित षड्यन्त्र भए। त्यस काममा सभामुख पनि सामेल भए।’

पद पाइएन भने पार्टी नै छाडेर जान्छु भन्ने असली कम्युनिष्ट नभएको ओलीको भनाइ थियो। ’पद नपाए पार्टी छाड्छु रे, देश र जनताप्रतिको उत्तरदायित्व त्यही होर ? पद पाइएन भने छाडेर जान्छु त्यस्ता पनि कम्युनिष्ट हुन्छ ?, सबैको पालो आउछ पदको लागि मरिमेट्ने होइन’ ओलीले भने।

सभामुखले गैरसांसदलाई संसदमा राखेकै कारणले संसद अवरोध गरिएको उनले बताए। उनले भने,‘पार्टी फुटाउन भूमिका खेले। पार्टीको कार्यकर्ताको भूमिका खेले। गैरसांसद् राखेर संसद चलाउन खोजेका छन्। हामीले जायज काम गरेका छौँ। त्यो विरोध कायमै रहन्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवा सरकार परमादेशबाट आएकोले जनताप्रति काम गर्न नसक्ने उनले दाबी गरे। ‘यिनीहरू चुनावदेखि थरथर हुन्छ। जनताबाट एमाले बाहेकको कुनै सरकार आउन सक्दैन। के भनेर यिनीहरूलाई जनताले भोट हाल्नेरु’ ओलीले सोधे। आफूले दुवै छिमेकी मुलुकसँग बराबरीको हैसियतमा सम्बन्ध स्थापित गरेको भएपनि देउवा सरकारले बिथोल्न खोजेको आरोप उनले लगाए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर