Aamsanchar

झापाको सिमाक्षेत्र किटेनीमा पूर्वकै ठुलो कालिज फार्म

Author Image
आइतवार, असोज १०, २०७८

बिर्तामोड । झापा–इलामको सिमा क्षेत्र रोङ गाउँपालिका–४ किटेनीमा कालिज फार्म संचालनमा ल्याईएको छ ।  स्थानिय, पुर्व प्रहरी नन्द गुरुङको परिवारले उक्त फार्म संचालनमा ल्याएका हुन् ।

जागिरबाट सेवा निवृत्त भएपछि गाउँघरमा गफिएर हिड्नु भन्दा केही गरौं भन्ने सोचले कालिज पालन सुरु गरेका गुरुङले अरु सेवा निवित्त कर्मचारहिरुलाई पनि सकुनजेल केही गर्नुपर्छ, काम प्रति समर्पित बन्न सकेमात्र परिवार, समाज र देशको उन्नती हुन्छ भन्ने सन्देश दिएका छन् ।

नन्दकुकमार लगायतको समूहले ठुलै लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका छन् । कालिज फार्ममा पोखराका एकजना जानकार साझेदार पनि सामेल रहेका छन् । मेची राजमार्गसँगै जोडिएको सात रोपनी जग्गामा एक करोड रुपैंयाँ लगानीमा इस्टर्न वाइल्ड फुड प्रालि नामक कम्पनीमार्फत कालिज फार्म सञ्चालन गरिएको छ ।

मासुका पारखीले जङ्गली कुखुराको प्रजाति भएको हुँदा कालिज अति रुचाउँछन् । साना रेस्टुरेन्टदेखि ठूला तारे होटलसम्म र व्यक्तिका घरदेखि भोजभतेरको भान्सासम्म कालिज पाक्ने गरेको छ । स्वाद र पौष्टिकताले भरिपूर्ण हुने भएकोले बिरामी र सुत्केरीलाई तागत बढाउनसमेत कालिजको मासुको झोल खुवाउने चलन रहेको संचालक सदस्य नन्दकुमारले बताए ।
अरु कुखुराले जस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन । उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेराबेरा मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाइएको छ ।

फार्ममा अहिले हुर्किएका दुई हजार ५०० वटा बिक्रीयोग्य कालिज ग्राहकको प्रतीक्षामा छन् । मासुका लागि मात्र नभएर पाल्न चाहनेका लागि चल्ला पनि फार्मबाट बिक्री हुने गरेको बताइृएको छ ।
कोरोना महामारीका कारण बजार चलायमान नहुँदा सोचे जस्तो उत्पादन बिक्री हुन नसकेको गुनासो नन्दकुमारको छ । नन्दकुमार भन्छन् ‘कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीले होटल तथा रेस्टुराँ खोल्न नसक्ने अवस्था र पर्यटक चहलपहल ठप्प हुँदा व्यवसाय विस्तारमा असर परेको थियो तर अब बिस्तारै सहज हुदै गएको छ, अब निरास पक्कै हुनुपर्दैन होला, दैनिकजसो बिर्तामोड लगायतका सहरबाट कालिज किन्न मानिसहरु आउन थालेका छन् ।’

इलामको श्रीअन्तु, कन्याम जस्ता पर्यटकीयस्थल नजिक भएका कारण फार्मबाटै कालिज बिक्री हुन थालेको छ । झापाको बजार र होटलहरुमासमेत कालिज जान थालेको छ, लोकल र ब्रोइलर कुखुराको तुलनामा कालिज निकै महँगो पर्दछ । एउटा वयस्क कालिज एक किलो ५०० ग्राम तौलको हुनेगर्छ ।

फार्ममै किन्न आउनेहरुले प्रति किलो रु तीन हजार दाम हालेर कालिज किन्ने गरेको गुरुङको भनाइ छ । कालिजको पोथीभन्दा भाले सुन्दर देखिन्छ । लामो पुच्छर र रङ्गीन प्वाख भएकाले पर्यटक फार्ममा पुगेर घण्टौंँसम्म कालिज हेरेर रमाउने गरेका छन् ।

पोखराबाट पहिलो पटकप्रति गोटा तीन हजार मूल्यमा कालिजको चल्ला किनेको गुरुङले सुनाए । अहिले उनले स्थानीय खरिदकर्तालाई ७५० देखि एक हजारसम्ममा चल्ला बिक्री गर्दै आएका छन् ।
झापाको चारआलीस्थित महेन्द्र राजमार्गबाट १८ किलोमिटर उत्तर मेची राजमार्गमै रहेको सो स्थानमा गर्मीमा चिसो र जाडोमा न्यानो मौसम हुने भएकोले रिसोर्ट चल्ने उनको भनाइ छ ।

तस्वीरहरु : सरोज सुवेदी

थप जानकारीको लागि यो भिडियो हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 649

प्रतिक्रिया (०)

सम्बन्धित खबर