Aamsanchar

झापाको क्षेत्र नं. ४ मा हुने फुटबल प्रतियोगितामा ५६० जना खेलाडीले भाग लिने

Author Image
सोमवार, असोज ११, २०७८


बिर्तामोड । झापाको क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो ।

सोमबार झापाको सुरुङ्गामा पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो । यो क्षेत्रमा रहेका २८ वडा वडाका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रत्येक वडाबाट २० जना खेलाडीहरुले भाग दिने छन् । आजै २८ वडा वडाका खेलाडीहरुलाई जर्सी र १–१ वटा फुटवल पनि वितरण गरिएको छ ।

प्रतियोगिताको लागि कनकाई नगरपालिकाकाबाट ७, झापा गाउँपालिकाका ७, शिवसताक्षी नगरपालिकाका ११, गौरादह नगरपालिकाको एक र गौरीगञ्ज गाउँपालिकाका २ वडाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने संयोजक सुनिल भेटवालले जानकारी दिए ।

प्रतियोगिताअघि पूर्वछनोट गराइनेछ । सो क्षेत्रअन्तर्गत कनकाई नदी पूर्व १४ र पश्चिममा १४ वटा वडा रहेका छन् । जसअनुसार कनकाई र झापाबाट दुईदुई, शिवसताक्षीबाट तीन र गौरीगञ्ज र गौरादहबाट एक टिम छनोट चरण पार गरेर अन्तिम आठमा प्रवेश गर्ने खेल व्यवस्थापन संयोजक गजेन्द्र ताम्ली लिम्बूले बताए ।

स्थानीय वडाहरुले आफ्नो पालिकामा छनोट चरण खेल्ने छन् भने क्वार्टर फाइनलदेखिका सात खेल दुधे खेल मैदान हुने छन् । पालिकाको छनोट खेलहरु असोज १२ गतेबाट सुरु हुने छन् भने अन्तिम आठको खेल तथा उट्घाटन कार्यक्रम कात्तिक ८ गते र फाइनल खेल कात्तिक १६ गते हुने महासंघले जनाएको छ ।

भेटवालका अनुसार प्रतियोगिताका विजेताले नगद दुई लाख २५ हजार र उपविजेताले एक लाख २५ हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, अन्तिम आठबाट बाहिरिने चारवटा टिमले नगद १५ हजार र अन्तिम चारबाट बाहिरिने दुई टिमले नगद २५ हजार पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ५०० रुपैयाँ पाउनेछ । व्यक्तिगत विधातर्फ उच्च गोलकर्ताले सात हजार ५०० तथा उत्कृष्ट रक्षक, उत्कृष्ट मिड फिल्ड र उत्कृष्ट गोलरक्षकले समान पाँचपाँच हजार रुपैयाँ पाउने भेटवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ७० हजार ५०० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजक नेपाल खेलकुद महासंघले २८ वटै टिमलाई आज ६०० थान जर्सीसमेत प्रदान गरेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न दिलमायाको स्मृतिमा उनका पति बुद्धिमान साँवा तथा साँवा परिवारले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने बताइएको छ । स्वर्गीय दिलमाया सो क्षेत्रका संघीय सांसद एलपी साँवा लिम्बूकी आमा हुन् ।

कार्यक्रममा सांसद साँवाले लिम्बु परंपरामा आफ्ना दिवंगत हुने परिवारका सदस्यहरुको स्मृतिमा चौचारो, पाटी, पौंवा बनाउने चलन थियो, त्यो चलन अहिले आवश्यक नपर्ने भएको छ । चौतारो बनाउनुको साटो आमाको स्मृतिमा फुटवल खेलाउने पारिवारको सल्लाह भएपछि लामो समयको लक डाउनले ठप्प रहेको खेलकुद क्षेत्रलाई चलायमान बनाउन खेल खेलाउन पाएकोमा खुशी लागेको बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष दिपेन्द्रप्रसाद दाहाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, एमाले झापाका कार्यालय सचिव शिव ढुंगेललगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर