
काठमाडौं – एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले शानदार जित निकालेको छ।
सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई आज २ सय २१ रनको फराकिलो अन्तरले हराएको हो। नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा समेटियो।
चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। उनले १ दशलव २ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएका हुन्। सफोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए। नन्दन यादवको नाममा १ विकेट रह्यो
सेनजियान झेङले बनाएको ३१ रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जिनहाओले १७ र कप्तान टियान सेनक्वुनले १२ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले। उनले नवौँ ओभरमा प्रत्येक बलमा ६ छक्का प्रहार गर्दै यसअघि दिपेन्द्रसिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्।
त्यस्तै कुशल मल्लले ८५ र रोहित पौडेलले ६९ रनको अर्धसकतीय पारी खेले।


