Aamsanchar

भद्रपुर सीमानाका खुलाउन भारतले मानेन

Author Image
शुक्रवार, असोज १५, २०७८

झापा- भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले नाका सञ्चालन गर्ने निर्णय गरे पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले कुनै आदेश नआएको भन्दै भद्रपुर–गलगलिया नाका बन्द राखेको छ। एसएसबीले कसैलाई आवतजावत गर्न दिएको छैन।

यसले गर्दा भद्रपुर नगरपालिकाले सीमानाकामा राखेको स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क उद्घाटन कार्यक्रम पनि सरेको छ। सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउटपोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहाल नाका खुलाउने विषयमा सहजीकरणका लागि भारतीय एसएसबी ४१ बटालियन भातगाउँका इन्स्पेक्टर सत्यनारायणलाई भेट्न गएका थिए। त्यसबारे इन्स्पेक्टर सत्यनारायणले एसएसबी ४१ बटालियन रानिडाँगाका एसएसपी सुवासचन्द्र नेगीसँग बुझेका थिए।

नेगीले माथिबाट आदेश नआएको भन्दै नाका नखोल्न इन्स्पेक्टर सत्यनारायणलाई आदेश दिएका बताइएको छ। भद्रपुर नाका नखुलेपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार बिहान विहार किशनगञ्जका डिएम कुमार आशिषसँग फोन सम्पर्क गरेका थिए।आशिषले नाका खुलाउन आदेश नआएको र नेपालले गरेको निर्णय पठाइदिन प्रजिअ तिमिल्सिनालाई आग्रह गरेका थिए। जिल्ला प्रशासन कार्यालय झापाले डिएम आशिषलाई नाका सञ्चालन गर्ने बारेको निर्णय पठाइसकेको बताउँदै प्रजिअ तिमिल्सिनाले भने‚ ‘किशनगञ्जका डिएमले नाका खुलाउने विषयमा सहजीकरण गर्ने बताउनु भयो। त्यसका लागि उहाँले एक/दुई दिनको समय माग्नु भएको छ।’

सशस्त्र प्रहरीबल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले भारतीय सुरक्षानिकायका प्रमुखसँग नाका खुलाउने विषयमा सहजीकरण भइरहेको बताए। नाका खुलाउँदा दुवैतर्फ हेल्थ डेस्क राख्नुपर्ने भएकाले दुवै देशका प्रशासन प्रमुखहरूको उपस्थितिमा नाका सञ्चालन गर्ने विषयमा कुराकानी भइरहेको उनले बताए।

कोरोनाले विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका सञ्चालनमा नआउँदा दक्षिणी भेगका जनता काँकडभिट्टा नाका प्रयोग गर्न बाध्य छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर