Aamsanchar
Adv top
Adv below_nav

आज सप्तमी ‘फूलपाती’ पौराणिक महत्व यस्तो


नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । जहाँ भक्तजन पुग्ने गरेका छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेकाले प्रत्येक व्यक्तिले सचेतता अपनाउनु जरुरी छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ ।

कालरात्रि स्तूती मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

अर्थातः
कालरात्रि देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाईंलाई कोटी–कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् !!

नेपाल एकीकरणपश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्वपूर्ण शक्तिपीठहरूमा पु¥याउने चलन थियो । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ । तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौंको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।

लोकतन्त्र आगमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिए पनि थोरै फूलपाती भएपनि मोटरसाइकलमा काठमाडौंसम्म ल्याइने गरिएको स्थानीय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ ।

फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।

उक्त फूलपातीलाई विशेष मौलिक सिङ्गारपटार गरेर, झकीझकाउँका अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ ।

यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौं ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।

अर्कोतर्फ गाउँ–घरमा आजबाट औपचारिक रुपमा लिङ्गेपिङ हालिन्छ । खरको डोरी र टुप्पो नकाटिएको हरियो चार वटा बासलाई गाडेर बनाइने यो पिङ दसैँको अर्को रौनक हो । जुन सदियौंदेखि दसैँमा मनोरञ्जन गरिने एउटा मौलिक साधनको रूपमा प्रचलित छ ।

मान्छे चढेर मच्चिएपछि बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ । दसैँको यस विशेष अवधिमा एक पटक भएपनि भुँई छाड्नु भन्ने चलन छ । पिङ चढेका बखत भुई छोडिन्छ । पिङमा मच्चिउञ्जेल प्रकृतिको खुल्ला काखमा पन्छी झैँ स्वतन्त्र भई यो शरीरले स्वास भर्छ अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

गाउँ–घरमा माहौल पक्कै पनि रोमाञ्चक छ । मुग्लान पसेका साथीभाई आफन्तजन, प्रियजन आफ्ना गाउँठाउँमा कत्तिको फर्केका छन् रु शहर बस्नेहरू पनि गाँउठाउँ फर्केका छन् कि छैनन् रु कत्तिका आमाबुवा, दिदी बहिनी, दाजु–भाईका मन हर्षले गद्गद् होलान् त कति प्रतीक्षाका आँखा ओछ्याइ पर्खिबसेका होलान् ।

छोराछोरी, बुहारी अनि नातिना लगायत तीन चार पुस्ता नै घरमा भेला हुन्छन् । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडेघरको रौनक वास्तवमै अतुलनीय छ । आजैबाट खसी बोका काट्ने तथा बलि कार्य प्रारम्भ भइसक्यो ।

यो चाड सनातन हिन्दू मात्रको नभई तमाम नेपालीजनको हो, यसको मौलिक विशेषता भनेकै यही हो । तडक–भडक भन्दा पनि सामान्य जीवनशैली अनि असमान्य आत्मीयताका साथ चाड मनाउनुहोला । यो रमाइलो माहौलको शुभकामना !

 



























लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।
Adv footer