Aamsanchar

दुहबीस्थित  सबस्टेशन ३८ घण्टापछि सञ्चालनमा

Author Image
बिहिवार, कार्तिक ४, २०७८

काठमाडौं : अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेशन ३८ घण्टापछि सञ्चालनमा आएको छ। डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेशन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो।

‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेशनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने‚ ‘अब दुहबी सबस्टेशनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं।’

प्रदेश नं १ का जिल्लामा विद्युत आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति बन्द भएको थियो। सबस्टेशन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सुचारु भइसकेको छ।

उपकरणहरूमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेशन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए। सबस्टेशनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ।​

अत्तरिया–चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा

वर्षाका कारण विभिन्न स्थानमा रूख ढल्दा बन्द भएको अत्तरिया (कैलाली–चमेलिया-दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ। अवरोध हटाएपछि बिहीबारदेखि उक्त प्रसारण लाइन सञ्चालनमा आएको हो।

यो प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सञ्चालनमा आएको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर