Aamsanchar

नेपालको फिफा बरीयता खस्कियो

Author Image
बिहिवार, कार्तिक ४, २०७८

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।

माल्दिभ्समा अक्टोबरको १ देखि १५ तारेखसम्म भएको साफ च्याम्पियन्सिपमा पहिलो पटक फाइनलमा पुगे पनि नेपालको वरीयता भने खस्किएको छ । साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसंग बराबरी खेलेको थियो । भारतसंग भने लिग र फाइनल गरी दुई पटक पराजित भएको थियो ।

दक्षिण एसियाली राष्ट्रको वरीयता हेर्दा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत एक स्थान सुधार गर्दै १०६ औं स्थानमा उक्लेको छ भने माल्दिभ्स दुई स्थान सुधार गर्दै १५६ औं स्थानमा छ ।

यस्तै नेपालभन्दा पछि रहेकामध्ये भुटान र बंगलादेश भने स्थान सुधार गर्दै क्रमश: १८६ औं र १८७ औं स्थानमा उक्लेका छन् । फिफाको प्रतिवन्धमा रहेको पाकिस्तानको वरीयता पनि एक स्थान सुधार हुँदै १९७ औं स्थानमा छ । श्रीलंका एक स्थान सुधार गर्दै २०४ औं स्थानमा उक्लेको छ ।

विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो स्थानमा कायमै छ । फ्रान्स र इटली एक स्थान सुधार गर्दै तेस्रो र चौथो स्थानमा उक्लेको छ । इंग्ल्याण्ड पाँचौं स्थानमा झरेको छ ।

अर्जेन्टिना छैटौं, स्पेन सातौं र पोर्चुगल आठौं स्थानमा झरेको छ । मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा यथावत छन् । एसियाली राष्ट्रमा इरान २२ औं र जापान २८ औं स्थानमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर