Aamsanchar

राम र सीताको विवाह प्रसंग

Author Image
बुधवार, मंसिर २२, २०७८

बरु भगवान इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान रामकी पत्नीलाई अपहरण गर्नेलाई रामले विनाश गर्नुहुनेछ, यो अकाट्य छ ।

आजको दिन यसको महिमा अझ राम्रोसँग बुझ्न सकिन्छ । विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बोक्ने आजको दिन हो, विवाह पञ्चमी । रामसीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्शाउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिन सकिन्छ । मिथिलावासीहरुले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेषगरि जनकपुरमा आजको दिन ठूलै उत्सव लाग्छस सागरहरु छेउमा आरती गरिन्छ, रामजानकी मन्दिर धुमधामले सजाइन्छ अनि साँझमा आरतीहरु मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरुको कीर्तिको गुणगान गाइन्छ ।

आजको दिन विशेष दिन किन पनि हो भने आजकै दिन त्रेतायुगमा अयोध्याबाट राम आएर मिथिला राज्यको राजधानी जनकपुरधामबाट राजकुमारी सीतालाई विवाह गर्नुभएको थियो । मंसिर शुक्ल पञ्चमीको आजको दिनलाई त्यसैले त विवाह पञ्चमी पनि भनिएको हो । वैदिक सनातन हिन्दु संस्कृतिअनुसार राम र सीताको विवाह भएको प्रसंग हामीले बारम्बार सुन्दै आएका छौँ ।

राम र सीताको विवाहको उत्सव मनाउन अहिले त रामजानकी मन्दिरमा साताव्यापी कार्यक्रम नै गरिन्छ । साताभर चल्ने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । अनि आजको दिन विवाह गर्न चाहने जोडीहरुले कुनै पनि साइत हेर्नु नपर्ने मान्यता रहँदै आएको छ ।

जनकपुरका लागि यो विशेष दिन पनि किन हो भने सीताको जन्म जनकपुरमा नै भएको मानिन्छ । मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी सीताको अयोध्याका राजा दशरथका जेठा छोरा रामसँग विवाह भएको थियो ।

यो विवाहबारे एउटा प्रसंग रोचक छ । राजा जनकले संरक्षण गरेर राखेको शिव धनुलाई ठूलाठूला वीरहरुले पनि उचाल्न सकेका थिएनन् । तर, सीताले पूजा कोठा सरसफाई गर्दा एक्लै धनुलाई उचालेकी थिइन् । उनले धनु उचालेको थाहा पाएपछि राजा जनकले त्यो शिव धनु उचाल्न सक्ने वीर पुरुषसँग आफ्नी छोरीको विवाह गर्ने बताएका थिए ।

अयोध्याका राजकुमार रामले धनु उचालेका मात्र थिएनन्, उनले धनु उचाल्ने क्रममा त्यो भाँचिएको समेत थियो । तीन टुक्रामा धनु भाँचिएपछि राजा जनकले पहिले आफूले गरेको वाचाअनुसार रामसँग सीताको विवाह गर्न राजी भएका हुन् । भनिन्छ, राम र सीताको विवाह धुमधामका साथ भएको थियो । त्यही समयदेखि नै आजको दिनलाई विवाह पञ्चमीका रुपमा मनाउन थालिएको हो । अहिले पनि जनकपुर धाममा यो दिनका लागि विशेष तयारी गरिन्छ, मानौँ त्यहाँ साँच्चिकै सीताको विवाह हुन लागेको छ । त्यसो त भगवान रामको जन्मस्थान अयोध्याबाट आजै सीतासँग विवाहका लागि जन्ती आउने प्रचलन पनि रहेको छ, जन्ती आउनेहरुले रामको प्रतिमा ल्याउने गर्छन् । यता जनकपुरमा पनि सीताको प्रतिमा तयार पारिएको हुन्छ ।

राम र सीताका जीवनका अन्य कथाहरु पनि हामीले निकै सुनेका छौँ । रामसँगै सीता वनवास जाँदाको प्रसंग होस् या उनले निर्वाह गरेको असल पत्नीको चरित्र किन नहोस्, अहिले पनि हाम्रो समाजमा सीतालाई असल नारी, असल छोरी, असल बुहारी, असल भाउजू, असल आमा, असल पत्नीका रुपमा चित्रण गरिन्छ । उनको यही त्याग र सज्जन बानीलाई त हिन्दू धर्मावलम्बीहरुले देवीका रुपमा लिएका छन् । अनि पौराणिक ग्रन्थ रामायण पनि यसै वरपर घुमेको छ । अहिले पनि हाम्रो समाजमा रामायणको विशिष्ट महत्त्व रहेको छ ।

सीता र रामको कथा र प्रसंगहरु सदियौँसम्म चलिरहने छन् । यो आदर्श वर्षौपछि सम्म पनि रहोस् भन्ने कामनासहित यस वर्षको विवाह पञ्चमीको शुभकामना सबैलाई ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 546

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१