Aamsanchar

पाँचथरको फिदिममा च्याब्रुङ बजाउने तालिम सम्पन्न

Author Image
शुक्रवार, पौष २, २०७८

पाँचथर –पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिममा किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको व्यवस्थापनमा लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको हो । फिदिमस्थित वरदान सङ्गीतालयमा लिम्बू जातिको परम्परागत मौलिक लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने दुई हप्ते सैद्धान्तिक तथा प्रयोगात्मक तालिम मङ्सिर १२ देखि २६ गतेसम्म सञ्चालन भएको थियो । उक्त तालिम कार्यक्रममा ताप्लेजुङ, पाँचथर, तेह्रथुम लगायतका जिल्लाबाट २२ जना सहभागी थिए । तालिम कार्यक्रम हरेक दिन दुई चरण गरी ७÷७ घण्टा सञ्चालन गरिएको थियो ।‘मैले वर्षौं च्याब्रुङ बजाएँ, नाचेँ तर यसबारे सैद्धान्तिक ज्ञान भने केही पनि थाहा पाएको रहेनछु । यो तालिमबाट मैले धेरै कुरा सिकेँ । पहिले बजाएको त अव्यवस्थित र अवैज्ञानिक पो रहेछ ।’ तालिममा सहभागी ताप्लेजुङका केबी किरातीले सुनाए । यस्तै तालिममा सहभागी तेह्रथुमकी समीक्षा थेगुवाले भनिन्, ‘हामीले सही तरिकाले च्याब्रुङ बजाउनु, नाच्नु मात्र होइन यसको उत्पत्ति र महत्वदेखि बनाउने तरिका समेत जान्यौँ । तालिमबाट धेरै फाइदा भयो ।’

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागका प्रमुख प्राज्ञ अशोक राईको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकहरूमा यासेली योङहाङ र वरदान सङ्गीतालयका प्रमुख बुद्ध लिम्बू इङ्वा रहेका थिए ।

उक्त तालिमको सङ्घीय सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, प्राज्ञ सभा सदस्य भूमिका सुब्बा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, सङ्गीतज्ञ शिलाबहादुर मोक्तान तथा गायिका कुन्ति मोक्तानलगायत विशिष्ट व्यक्तित्वहरूले हरेक दिनको तालिमको अवलोकन तथा अनुगमन गरेका थिए । समापन कार्यक्रममा पूर्वमन्त्री नेम्बाङले तालिम अत्यन्त उपयोगी लागेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१