Aamsanchar

शब्द चित्रमा रोङको करसोङ पदमार्ग

Author Image
आइतवार, पौष ४, २०७८

मेची राजमार्ग हाँस पोखरीबाट सुरुहुने पदमार्ग ।

पर्यटन व्यवसायको हिसावमा पूर्वी नेपाल भर्खरै फस्टाउदै गएको भन्दा फरक पर्दैन । विगत एक दशकदेखि हरेक बर्ष, नयाँ पर्यटकिय गन्तव्यहरुको खोजी र विकास हुनेक्रम सुरु भएको छ । प्रदेश १ मा चर्चामा आएका प्राकृतिक पर्यटकयिक गन्तव्य भएको जिल्लाहरुमा सोलुखुम्बु, इलाम, ताप्लेजुङ र घनकुटा जिल्ला अग्रस्थानमा रहेका छन् ।

पछिल्लो बर्षयता निजी क्षेत्रको लगानीमा झापा, मोरङ र सुनसरी पनि आन्तरिक पर्यटकिय स्थलको मुख्य जिल्ला बन्दै गएका छन् ।

पर्यटकका लागि विभिन्न फरक फर गन्तव्यहरु रोजाईमा पर्ने गरेको छ । सिमित क्षेत्रमा संचालनमा आएका फनपार्क, सामुदायिक बनहरुले सुरु गरेको सिमसार पोखरी, वाल उद्यान अनी सहासिक खेलहरु पर्छन । तर पछिल्लो सयममा पर्यटकहरुको घुमफिर गर्ने रमाउने गन्तव्यको रोजाई फेरिन थालेको छ । त्यो गन्तव्य हो जंगल सफारी, पदमार्ग यात्रा ।
अत्यन्तै कम खर्चको हिसावले होस् या स्वास्थ्य प्रति सचेत रहने नागरिकको लागि पदमार्ग रोजाईमा पर्न थालेको हो । प्रकृतिसंग रमाउदै पदमार्ग गर्नको लागि सुविधायुक्त गन्तव्य भने पूर्वमा खासै रहेको छैन् । भएका गन्तव्यमा सातु चामल बोकेर जानु पर्ने बाध्यता रहेको छ । त्यो पनि एक दिन होईन हप्ता दिन समय खर्च गर्नुपर्ने हुन सक्छ ।

दिनप्रतिदिन मानिसहरु व्यस्त जीवनमा रहनु पर्ने समय आएको छ । प्राकृतिक दृष्य अवलोकन र जैविक विविधता बारे बुझनको लागि जाने समय कम भएको अवस्थालाई मध्येनजर गरेर इलामको रोङ गाउँपालिकाले यातायातको पहुँचसंग जोडिएको पदमार्गमा जान चाहाने पर्यटकहरुको लागि एक उपयुक्त गन्तव्य तयार पारेको छ । त्यो गन्तव्य हो करसोङ पदमार्ग । पदमार्गको नामाकरण स्थानिय लेप्चा जातीको भाषाबाट गरिएको छ । लेप्चा भाषामा करसोङ भनेको सुनखरी हो । सुनखरी भनेको जंगली फूल हो, सो टाउँमा बहुप्रजातीको सुनखरी पाईने भएकाले सुनाखरी नाम नामकरण गरिएको रोङ गाउँपालिकाका प्रवक्ता वडा नम्बर ६ का वडाध्यक्ष मणिकुमार स्याङबो (सुवास) ले जानकारी दिए ।

पुष २ गते नयाँ गन्तव्यको प्रचार प्रसार गर्नको लागि रोङ–६ र पर्यटन कार्यालय काँकडभिट्टाको संयुक्त आयोजनामा झापा र इलामका पत्रकारहरुलाई पदमार्गमा यात्रा गराईएको थियो ।

कहाँ पर्छ करसोङ पदमार्ग ?

पूर्वी पहाडको मुख्य मार्ग मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिकाको वडा नं.३ स्थित सानोपाथीभरा मास्तिर, हाँस पोखरीबाट पदमार्ग सुरु हुन्छ । हाँस पोखरीबाट सुरु भएको पदमार्ग रोङ ५ हुदै झापाको मेचीनगर नगरपालिका र रोङको ६ नम्बर वडाको सिमाना निन्दा सिरानमा पुगेर टुङगिन्छ । हाँस पोखरी देखि निन्दा सिरान सम्मको दुरी २९ किलो मिटर रहेको छ ।

पदमार्गको विशेष्ता के हो त ?
पदमार्गको मुख्य विशेष्ता भनेको भौगोलिक विभिदता नै हो, समुद्री सतह देखि १८ सय देखि ३ सय मिटर सम्मको उचाईको वातावरण रहेको छ । गर्मी महिनामा अझ बढी अनुभव गर्न सकिन्छ । तराईबाट जाने पर्यटकको लागि यात्रा अलौकिक स्मरणियनै बन्छ ।
दुर्लभ बोट विरुवा, बनस्पती, रंगी विरंगी जंगली फूल, फूलको वासनामा लठ्टीदै नाची रहेका पुतली, कोपिला र फर्किएको फूलमा मौरी, भमरा भुनभुन गर्दै तछाड र मछाड गर्दै रस चुसी रहेको दृष्यले आखाँका नानीलाई एकोहोरो बनाई दिन्छ । कतै उकालो कतै ओरोलोले मुटु, मासंपेसीलाई पनि कसरत गराई रहेको हुन्छ । कुनैबेला मुटुको गति बढने गर्छ भने कुनैबेला पाईलाको गति र फड्को चालले सम्पूर्ण शरिरकै थेरामी गरी रहेको हुन्छ । सररर चल्ने हावा, एक एक छिनमा वादल र घामको लुकामारीले मनलाई आनन्दित बनाई रहेको हुन्छ ।

पदमार्गको आर्कषणहरु
पदमार्गको लागि जाने पर्यटकले पैदल यात्राको क्रममा १५ स्थानमा फरक फरक रमणिय दृष्यको अवलोकन गर्न सकिने छ । पदमार्गको सुरुवनती देखि अन्त्यसम्ममा झापा र भारतको सिमावर्ती सहर र बस्तीहरुलाई निहाल्न सकिन्छ । पदमार्गमा पर्ने हेर्न लायकका ठाउँहरुमा हाँस पोखरी, चिन्डेपानी, गुगल डाँडा, देउराली, टैले, लामा डाँडा, झण्डी डाँडा, सतालसेन टाकुरा, गुरुधुम डाँडा, भिमसेन ढुंगा, मेची सिद्धी दोभान, इन्द्रेणी झरना, चिसापानी र सलकपुर हुँन् । सलकपुर सुन्ताला, अलैंची, अम्रिसो र तरकारी उत्पादन, सिरोना जातको मौरी पालनले अझ परिचित रहेको छ । झण्डी डाँडा सूर्योदय र सूर्योअस्त हेर्ने नयाँ गन्तव्यमा स्थापित हुदै गएको छ । कृषि पर्यापर्यटन र वनस्पति विज्ञानको अध्ययन र अवलोनको लागि सिंगो रोङ गाउँपलिका उत्तम ठाउँमा पर्छ ।

खान र बस्न र अन्य सुविधा कस्तो छ ?
पदमार्गमा जाने पर्यटकहरुको लागि बाटोमा पर्ने गाउँहरु मझुवा, चिसापानी, जौबारी, रम्भ्याङ, सलकपुर, पाटापुरमा होम स्टे संचालन सुरु गरिएको छ । होम स्टे प्रवर्धनमा कारितास नेपालले सहयोग गर्न सुरु गरेको छ । हाल जस्केलो सामुदायिक होम स्टे दर्ता अन्तरगत १८ सहित २५ घर परिवारले आधारभूत होम स्टे सुरु गरेका छन् । सो क्षेत्रको प्रचारको लागि स्थानिय स्तरबाट पुष १० र ११ गते खाना महोत्सव संचालन गर्ने तयारी गरिएको छ । पदमार्गमा साईकल रेस प्रतियोगिता पनि आयोजना गरिने प्रवक्ता स्याङबोले बताए ।

गुगल डाँडा । यो स्थानमा भूमापन केन्द्र रहेको छ । यो समुद्र सतहबाट १८ मिटर उचाईमा रहेको छ ।

ड्राईभर सहित निजी सवारी हुनेले गाडी बाटोमै छोड्नु पर्ने हुन्छ त ?

पद मार्ग संगै सवारी मार्ग पनि रहेको छ । पैदल यात्रा सुरु गरेपछि करिव ५ किलो मिटरबाट सवारी यात्रा गरेर पनि २९ किलो मिटरको दुरी पार गर्न सकिने छ । सवारी प्रयोग गर्दा चारपाङग्रे फोरविल गाडी सहजै चलाउन सकिन्छ । करिव १९ किलो मिटरमा पर्ने सलकपुरमा भने काँकडभिट्टा बाहुनडाँगी हुदै चल्ने आटोरिक्सा, सार्वजनिक बसको पनि सुविधा रहेको छ । बास बस्नको लागि होम स्टेहरुलाई सुविधा युक्त बनाउने प्रयत्न गरिएको छ । ग्रामिण परिकार संगै, सुत्नको लागि सफा र शुलभ मुल्यमा कोठाहरु उपलब्ध रहेको छ । पानी, विजुली बत्तीको सुविधा राम्रो रहेको छ भने टेलिफोनको सुविधामा नेपाल टेलिकमको मोवाईल टावरले राम्रो संग नेटवर्क प्रवाह गर्ने गरेको छ ।

गुगल डाँडामा रहेको भूमापन केन्द्रको चिन्ह ।

जंगली कोदो ।

होम स्टेमा खाजाको रुपमा कन्तमुल तयार पारिदै ।

होम स्टेमा खाना पकाउने कार्यहुदै ।

एक होम स्टेको भान्छाघर ।

एक होम स्टेको सयन कक्ष ।

एक होम स्टे परिसरमा पर्यटक पत्रकारहरु ।

झण्डीडाँडा ।

अम्रिसो बारी ।

सुन्तलाको बोट ।

पदमार्गको बारेमा जानकारी दिदै रोङ गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङबो (सुवास) । साथमा पर्यटन कार्यलय काँकडभिट्टाका सुचना अधिकृत निरज कट्टेल र स्थानियहरु ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 877

प्रतिक्रिया (०)

सम्बन्धित खबर